शुक्रबार, बैशाख १४, २०८१

आउँला त भारतबाट जिटुजीमा रासायनिक मल ?

काठमाडौं । चालु आर्थिक वर्षमा रासायनिक मल अभाव नहोस् भन्ने हेतुले नेपाल सरकारले भारतसँग जिटुजी प्रक्रियाबाट रासायनिक मल ल्याउने सहमत गरेको छ । भारत सरकारसँग जिटुजीमा रासायनिक मल ल्याउने सहमत भएसँगै किसानहरु खुशी भएका मात्र छैनन् कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उच्च अधिकारीहरु पनि मल अभाव नहुने भए पछि खुशी देखिन्छन् ।

हुन त जिटुजी प्रक्रियाबाट रासायनिक मल आयात गर्दा दुवै देशको सरकारलाई सहज त हुन्छ नै तोकिएको समयमा नै मल आयात गरी किसानसम्म वितरण गर्न पनि सम्भव हुन्छ । यद्यपी बाहिर चर्चामा आए जस्तै भारत सरकार र नेपाल सरकारवीच भएको सहमति अनुरुप जिटुजी प्रक्रियामा रासायनिक मल कति आउँछ भन्ने कुरा भने प्रश्न चिह्नका रुपमा उभिएको छ ।

वितगमा पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतसँग जिटुजी प्रक्रियामा रासायनिक मल आयात गर्ने गरी गरेको सहमति अनुरुप मल आयात हुन नसकेको कृषि विज्ञहरुको भनाई छ । तर, यो पटक भारतले सहज रुपमा रासायनिक मल उपलब्ध गराउँछ भन्ने कुरामा कृषि तथा पशुपन्छी विकास मन्त्रालय विश्वस्त छ ।

मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेका अनुसार पाँच वर्षका लागि जिटुजी मार्फत रासायनिक मल आयात गर्नका लागि भारतलाई प्रस्ताव पठाएको छ । ‘पहिलो वर्ष ढेड लाख मेट्रिक त्यसपछि क्रमश बढाउँदै खरिद गर्ने गरी प्रस्तवा पठाएको छ । हाम्रो प्रस्ताव भारत सरकारले स्वीेकृत गरेमा मात्र मल आउँछ’ घिमिरेले कृषिअनलाईनसँग बताए ।

प्रवक्ता घिमिरेले भने जस्तै भारत सरकारले जिटुजी मार्फत रासायनिक मल उपलब्ध गराउनका लागि अहिलेको अवस्थााम सम्भव छैन कि भन्ने शंका पनि उब्जिएको छ । भारतले जिटुजी मार्फत नेपाललाई उपलब्ध गराउने रासायनिक मल आफ्नै उत्पादन हुन नसक्ने मन्त्रालयका एक अधिकारीले बताए ।

उनका अनुसार भारतले उत्पादन गरेको रासायनिक मल भारत मै अभाव छ । भारतले पनि किसानहरुलाई मल सहज उपलब्ध गराउनका लागि बाहिरी देशको भरपर्नु परेको तथ्यांकले नै देखाउँछ ।

भारतमा उत्पादन भएको रासायनिक मल, उनले गरेको आयातको परिमाण र किसानहरुलाई वितरण गरेको परिमाण हेर्ने हो भने भारतबाट नेपालले केही हजार मेट्रिक टन बाहेक रासायनिक मल जिटुजी प्रक्रियामा दिन असम्भव प्राय नै छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख ९, २०७८