शुक्रबार, बैशाख १४, २०८१

युवा जनशक्ति अभावले खेत खन्न अनुदानको ट्रयाक्टर माग्दै किसान

काठमाडौं चैत्र । पछिल्लो समयमा कृषिमा काम गर्ने जनशक्ति अभावका कारण खेतबारी खनजोत गर्नका लागि हाते ट्रयाक्टर तर्फ किसानहरुको आकर्षण बढ्न थालेको छ । विशेष गरी पहाडी जिल्लाहरुमा विगतमा गोरु लगाउने गरिएको भएता पनि अहिले गोरुले खेतबारी जोत्ने प्रचलन हट्दै गईरहेको छ । गाउँघरमा न त युवा जनशक्ति छन् न त गाईगोरु पालन नै देखिन्छ ।
गाउँघरमा कृषि कर्ममा बृद्धबृद्धा र महिलाहरु बाहेक पाउन मुश्किल पर्दछ । बार्षिक तीन महिना कृषिमा संलग्न भएता पनि त्यसपछिका नौ महिना बेरोजगारी नै देखिन्छन् गाउँका युवाहरु । फलस्वरुप वैदेशिक रोजगारीका लागि विदेश पलायत हुनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । फलस्वरुप खेतबारी खन्नका लागि पनि जनशक्तिको अभाव खड्किएको हो ।
पछिल्लो समयमा कृषि उत्पादनका लागि यान्त्रिकीकरणमा सरकारले जोड दिएसँगै यन्त्रको प्रयोग हुन थालेको देखिन्छ । विगतमा केही हुने खाने वर्गले मात्र खेतबारी खनजोत गर्नका लागि हाते ट्रयाक्टरहरु प्रयोग गर्ने गरेको देखिन्थ्यो ।
तर पछिल्ला वर्षहरुमा जनशक्तिको अभावपूर्ति मात्र होइन उत्पादनको लागत मूल्य कम गर्नका लागि पनि किसानहरुले हाते ट्रयाक्टर प्रयोग बढाउन थालेका छन् । त्यसमाथि पनि सरकारले कृषि यन्त्र खरिदमा अनुदानका कार्यक्रम ल्याउन थालेपछि किसानहरुको आकर्षण बढ्न थालेको हो ।
अन्य क्षेत्रको तुलनामा प्रदेश नं ५ मा हाते ट्रयाक्टरको माग बढेको देखिन्छ । प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा अनुदानमा हाते ट्रयाक्टर माग गर्न आउने किसानहरुको संख्या दशौं हजार पुग्न लागिसकेको छ । मन्त्रालयका अनुसार पछिल्लो समयमा किसानहरुको माग धेरै भएकाले धान्न सक्ने अवस्था नै छैन । तर पनि मन्त्रालयले चालु आर्थिक वर्षको लागि विनियोजित बजेटबाट सकेसम्म धेरै किसानहरुलाई अनुदानमा ट्रयाक्टर उपलब्ध गराउने तयारी गरिरहेको बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत्र २९, २०७५