बिहिबार, बैशाख २०, २०८१

ज्यादै महँगियो तरकारी

४ मंसिर, काठमाडौं ।  काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य तरकारीको भाउ गत वर्षको भन्दा थोक बजारमै साढे दुई सय प्रतिशतभन्दा बढी महँगिएको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारीको भाउ गत वर्ष मङ्सिर २ गते र यो वर्ष मङ्सिर १ गते (शुक्रबार) को मूल्य तुलना गरेर हेर्दा २६३ प्रतिशतसम्म महँगो भएको पाइएको हो ।
अघिल्लो वर्ष मङ्सिर २ गते प्रतिकेजी २७ रुपियाँ थोकमा कारोबार भएको गाजर अहिले प्रतिकेजी ९८ देखि १०० रुपियाँमा कारोबार भएको छ ।  यस्तै गोलभेडा (सानो र ठूलो) प्रतिकेजी ३० देखि ३५ रुपियाँमा किनबेच भइरहेकोमा अहिले बढेर ८० देखि ८५ सम्म थोकमै कारोबार भएको छ ।  यसैगरी प्रतिकेजी २७ रुपियाँमा पाइने सुकेको प्याज अहिले बढेर ७० रुपियाँमा कारोबार भएको छ ।  बन्दा, काउली, मुला, भन्टा, घिउसिमी, बोडी, स्कुस प्रतिकेजीको मूल्य पनि अघिल्लो वर्षको भन्दा ५० देखि एक सय प्रतिशतसम्म थोकमै महँगिएको छ ।  खुद्रा बजारमा त झन् तरकारीको भाउ छोइसाध्य छैन ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले उपत्यकामा मागअनुसारको तरकारी आपूर्ति हुन नसकेकाले महँगो भएको दाबी गरे ।  उनले भने , अघिल्लो वर्ष यो समयमा दैनिक सातदेखि साढे सात सय टन तरकारी भित्रिने गरेकोमा अहिले नै घटेर दैनिक ५०० देखि ५५० मात्रै आपूर्ति भएको छ, कम आपूर्ति हुनेबित्तिकै भाउ बढ्नु स्वाभाविकै हो ।  गएको साउन र भदौमा तराईमा आएको बाढीले तरकारीका बिरुवा वा तरकारी उत्पादन गर्ने स्थलमा धेरै नोक्सान पुगेकाले यसपटक कम आपूर्ति भएको कार्यकारी निर्देशक पौडेलेको भनाइ छ ।  आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने पौडेलको भनाइप्रति असहमति जनाउँदै भने , तरकारी भाउ महँगो हुनुको कारण बजारमा तरकारीको आपूर्ति कम नभएर होइन, व्यवसायी मनोमानी तरिकाले भाउ तोक्ने कारणले हो ।

 

प्रकाशित मिति: सोमवार, मंसिर ४, २०७४