बिहिबार, बैशाख २७, २०८१

सर्लाहीमा सिचाँइ अभाव

सर्लाही, साउन १८ । सर्लाही, जिगंडवा–५ का ३८ वर्षीय दुखा महतो चार बिघा खेतमा धान रोप्ने तयारीमा छन् । तर, पर्याप्त वर्षा नहुँदा आफ्नै दुई बिघा र ठेक्कामा लिएको दुई बिघा खेतमा धान रोप्न नपाएर उनी चिन्तित छन् ।

‘खेतबारीबाटै ११ जनाको परिवार चल्छ,’ खेतको आलीमा थकाइ मार्दै गरेका दुखाले भने, ‘एक महिनादेखि खेत जोतेर तयारी अवस्थामा छ । पानी नपर्दा रोप्ने धानको बीउसमेत सुक्न थालेको छ ।’ आलीमा रहर लगाउँदै भेटिएकी दुखाकी  ३४ वर्षीया श्रीमती बिन्दादेवीलाई धान रोप्ने चिन्ताले राति निन्द्रासमेत लाग्दैन। धानको बीउ खेतमै डढ्न थाले पनि महतो दम्पतीले वर्षाको आस मारेको छैन ।

सर्लाहीको जिंगडवा, धनकौल र पर्साबीचको फाँट धान रोप्न तयारी अवस्थामा छ । तर पानी नहुँदा सयौं कृषक अकासे पानीको प्रतीक्षामा छन् । विगतका वर्षमा सपहा सिँचाइबाट पानीले धान खेती हुँदै आए पनि यस वर्ष सपहा सिँचाइ सुकेको छ । सपहाको पानी भक्तिपुर र धनकौलका कृषक पम्पसेटले खेतमा लगाएपछि जिंगडवा र पर्साका कृषकको खेतमा सपहाको पानी पुग्न सकेको छैन । कतिपयले सपहा सिँचाइको ब्यारेज नजिकै पानीको भेलले बनाएको तलाउमा जमेको पानी पम्पसेटले तानेर धान रोपे । कतिपय अकासे पानीको आसमा रहेका किसानको बीउ सुक्न थालेको पर्साका चन्देश्वर राय बताउँछन् । ‘वर्षा नहुँदा खेत र नदी दुवैमा खडेरी छ,’ रायले भने, ‘सपहा सिँचाइमा पानी सुकेपछि किसानको भविष्य सुक्न लागेको आभास भएको छ ।’

‘वर्षा नहँुदा नदी, खेत र हाम्रो भविष्य खडेरीले डढ्न थालेको छ,’ पर्साका कृषक विन्देश्वर यादवले भने । पम्पसेटबाट रोपेको धान र रोप्न बाँकी रहेको बीउ सुक्न थालेको उनले बताए । वर्षा नभएर सुक्खा भएको बेला किसानका लागि सरकारले सोच्नुपर्छ,’ यादवले भने, ‘सरकारले सहयोग नगरे किसानका छोराछोरी भोकभोकै बस्ने दिन धेरै पर छैन ।’ खडेरीको मारमा परेका किसानलाई फेरि पनि यस्ता समस्या आउन नदिन सरकारले नहर, बोरिङ र राहतको व्यवस्था तत्काल गर्नुपर्ने यादवले बताए । रोपेको धान सुक्न थालेपछि सपहा नदीको तलाउमा पम्पसेट लगाउन काँधमा बोकेर आउँदै भेटिएका विन्देश्वर यादवले भने, ‘सरकारले असार १५ मा दही च्युरा खाएर सुरु गरेको रोपाइँ साउनमा खिर खाएर सकाए । तर, हामी किसानको धान रोप्न बाँकी छ । सरकारले हाम्रो समस्या बुझेकै छैन ।’

प्रकाशित मिति: बुधबार, साउन १८, २०७४