आइतवार, बैशाख ३०, २०८१

एउटै फार्ममा दैनिक डेढलाख अन्डा उत्पादन

स्याङ्जा, ६ असार । पूर्णस्वचालित ब्याट्री केज प्रणालीद्वारा स्याङ्जामा सञ्चालित मुलुककै पहिलो खिलुङ्कालिका एग्रो फार्मबाट दैनिक सरदर एक लाख ४३ हजार गोटा अन्डा उत्पादन भएको छ । अत्याधुनिक प्रविधि ब्याट्री केज प्रणालीद्वारा स्याङ्जाको भीरकोट नगरपालिकामा सञ्चालित फार्ममा विगत चार महिनादेखि फार्मको लक्ष्यअनुरूपको अन्डा उत्पादन भएको हो ।egg

भीरकोट नगरपालिका खिलुङदेउरालीको ठाडाखेतमा सञ्चालित एग्रोफार्मले दुई वर्षमै दिनहुँ एक लाख ४० देखि ४६ हजारसम्म अन्डा उत्पादन हुन थालेकोे कम्पनी कार्यकारी अधिकृत शोभाकान्त ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्डाबाट मात्रै फार्ममा दैनिक १५ लाख आम्दानी भएको छ । जिल्लाकै सबैभन्दा नौलो प्रविधि, ठूलो र पहिलो उद्योगका रूपमा स्थापित फार्मबाट लक्ष्यअनुरूपको अन्डा उत्पादन हुन थालेपछि लगानीकर्तामा थप हौसला बढेको छ । यहाँका अन्डा पश्चिमाञ्चल क्षेत्रका वागलुङ, तनहुँ, गुल्मी, कास्की, पर्वत र स्याङ्जामा बिक्री हँदै आएको छ ।

अन्डाको माग बढ्दो भएको फार्मले जनाएको छ । गुणस्तरीय र ताजा अन्डा बजारमा पुर्‍याइएको हुँदा यहाँ उत्पादित अन्डाको माग बढी भएको हो । हाल बजारमा कुखुराको प्रतिअन्डा खुद्रा मूल्य १५ रुपैयाँ छ । खिलुङकालिका एग्रो फार्म प्राइभेट लिमिटेड कम्पनीका नाउमा स्थापना गरिएको मुलुककै अत्याधुनिक प्रविधिजडित ‘लेयर्स कुखुरा फार्म’ दुई वर्षअघि असोजदेखि सञ्चालनमा ल्याइएको हो । जर्मनीको अत्याधुनिक प्रविधि ‘ब्याट्री केज’ प्रणालीबाट सञ्चालित फार्म दुई लाख लेयर्स कुखुरा क्षमताको छ ।

फार्ममा एक लाख ५० हजार लेयर्स र ५० हजार ग्रोइङ कुखुरा छन् । दैनिक एक लाख ५० हजार अन्डा उत्पादनको लक्ष्य लिएको कालिका फार्मले लक्ष्यअनुरूप अन्डा उत्पादन भएकामा पूर्णसफलता ठानेको छ । करिब ४० रोपनी क्षेत्रफलमा रहेको फार्ममा दुई लाख कुखुराका लागि चारवटा सुविधा सम्पन्न जर्मनी प्रविधियुक्त भवन निर्माण गरिएको छ । एउटा भवनमा ५० हजार चल्ला हुर्काउन र अन्य तीन भवन अन्डा उत्पादनका लागि निर्माण गरिएको छ । बन्द घरभित्र रहेका ती चल्लाले चार महिनामा अन्डा दिन्छन् । ‘वातावरणमैत्री बन्द घरभित्र रहेका ती कुखुराका लागि आवश्यकता अनुरूपका दाना, पानीलगायत अन्य आवश्यक खाद्यवस्तु मेसिनद्वारा उपलब्ध गराइनेछ भने मेसिनद्वारा नै अन्डा पनि एकीकृत रूपमा जम्मा हुन्छ । १५ महिनासम्म नियमित अन्डा दिने र त्यसपछि मासुका लागि बिक्री गर्ने फार्मको योजना छ । पश्चिमाञ्चल विकास क्षेत्रका सबै बजारसम्म आफ्ना उत्पादन पु‍र्‍याउने र अन्डामा निर्भर बनाउने कम्पनीको लक्ष्य हो ।स्थानीयवासी साबिक खिलुङदेउराली गाविसका गंगाराम अर्याल, हरिप्रसाद शर्मा, चूडामणि अर्याल र श्यामप्रसाद अर्याललगायत सातजनाले सञ्चालन गरेको एग्रोफार्ममा ३२ करोड लगानी पुगेको छ । फार्ममा झन्डै सय जनाले रोजगार पाएका छन् । फार्ममा चिकित्सकदेखि वातावरणीय विज्ञले दैनिक रेखदेख र जाँच गर्ने गर्दछन् । वरपर हरियाली बनजंगल । वस्तीदेखि धेरै पर वातावरणीय हिसाबले पनि यो क्षेत्र कुखुराका लागि अत्यन्त उपयुक्त स्थान मानिन्छ । फार्ममा हाल दैनिक चारदेखि पाँच टनसम्म सुली उत्पादन हुने गरेको छ । कुखुरापालनका लागि योे क्षेत्र उपयुक्त रहेको बताउँदै ९८ प्रतिशत उत्पादन लिन सकेको फार्म सञ्चालकको भनाइ छ । अन्नपूर्णबाट

प्रकाशित मिति: मङ्लबार, असार ६, २०७४