शुक्रबार, चैत्र १६, २०८०

लामो समय पश्चात बीउबिजन विधेयक २०७५ स्वीकृत

काठमाडौँ, साउन । लामो समय पश्चात ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५ प्रतिनिधिसभाको आईतबारको बैठकले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ । बैैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रस्ताव प्रस्तुत गरेका थिए ।
विगतदेखि नै नेपालमा बीउ विजनमा समस्या उत्पन्न भईरहेका बेला र पछिल्लो समयमा आयातित बीउविजनले किसानहरु मारमा पर्दै गईरहेका छन् । बीउ विजनमा देखिएका समस्या समाधान गर्न भन्दै कृषि मन्त्री खनालले सो विधेयक प्रस्तावमा लगेका थिए । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले स्थानीय जातका बिउबिजनको संरक्षण गरिनुपर्नेमा जोड दिएका थिए । सांसद घनश्याम खतिवडाले वर्णशङ्कर बीउले कृषिमा दीर्घकालीन रुपमा नकारात्मक प्रभाव पारेकाले स्थानीय जातका बीउ संरक्षण गर्नुपर्ने बताए ।
“पहिले काँक्राको बीउ संरक्षणका लागि बियाँ भित्तामा टाँसेर राखिन्थ्यो, अर्को वर्ष रोप्ने बेलामा उप्काइन्थ्यो, यस्ता मौलिक बीउ संरक्षणका लागि अपनाउनुपर्छ, बहुराष्ट्रिय कम्पनीका बीउले नराम्रो प्रभाव पारेको छ”–उनले आरोप लगाए ।
सांसद अमनलाल मोदीेले वर्णशङ्कर एवं रासायनिक पदार्थको अत्यधिक प्रयोगले प्रकृति संरक्षण, युवा अवस्थामै रोगले आयु घट्ने, क्यान्सरजस्ता रोग बढ्न थालेकाले स्थानीय जातकै बीउ संरक्षण गर्नुपर्ने धारणा राखेका थिए ।
सांसद रामबाबुकुमार यादवले नेपालको हावापानी सुहाउँदो बीउ संरक्षण गर्ने नीति लिन माग गरे । सांसद गौरीशङ्कर चौधरी, महेश्वरजङ्ग गहतराज, रेणुका गुरुङ, मनकुमारी जिसी, पवित्रा निरौला खरेल, प्रेम सुवाल, नवराज सिलवाल, चन्द्रकान्त चौधरी, पद्मनारायण चौधरी थारु र अमरेशकुमार सिंहले स्थानीय जातका बीउको संरक्षण गर्दै जैविक कृषि पद्धतिमा फर्कनुपर्नेमा जोड दिएका थिए ।
छलफलमा उठेका विषयलाई सम्बोधन गर्दै कृषि मन्त्री खनालले प्राङ्गारिक र जैविक खेतीलाई प्रवद्र्धन गर्न लागिएको समेत बताए । सम्भव भएसम्म स्थानीय जातका बीउलाई संरक्षण गरिने उनको विचार थियो । सरकारले १८ वर्षअघि नै निषेध गरिसकेको विषादीको अवशेष देखिएको समाचार सार्वजनिक भएकाले सचेत हुनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: आइतवार, साउन २६, २०७६