शनिबार, बैशाख २२, २०८१

महामारी रोक्न पिपिआर खोप

कञ्चनपुर, जेठ । महामारीजन्य रोगबाट जोगाउन कञ्चनपुरका ८५ हजार बाख्रालाई पिपिआर खोप दिइएको छ । पशुसेवा कार्यालय कञ्चनपुरको पहलमा तथा पशुसेवा केन्द्र र स्थानीय पाराभेट सञ्चालकको मद्दतले बाख्रालाई निःशुल्क रुपमा सो खोप दिइएको हो । पिपिआर (बाख्रामा लाग्ने हैजा) रोगको सम्भावित जोखिमबाट जोगाउनका लागि सघन रुपमा जिल्लाभरी अभियान सञ्चालन गरेर खोप लगाइएको पशुसेवा कार्यालय कञ्चनपुरका पशु चिकित्सक हरिदेव भट्टले बताए । पशुको बढी आवतजावत हुने क्षेत्रका रुपमा रहेका राजमार्ग, नेपाल भारत सीमा क्षेत्र र निकुञ्जको मध्यवर्ती क्षेत्रका किसानले पालेका बाख्रालाई लक्षित गरी निःशुल्क खोप कार्यक्रम सञ्चालन गरिएको हो ।
निकुञ्जका जनावरबाट घरपालुवा जनावर र घरपालुवा जनावरबाट निकुञ्जका जनावरमा पिपिआर रोग सर्न नदिनका लागि मध्यवर्ती क्षेत्रका किसानले पालेका बाख्रामा खोप लगाउने कार्यलाई प्राथमिकता दिइको पशु चिकित्सक भट्टले जानकारी दिए । “नेपाल भारत क्षेत्रमा हुने बाख्राको ओसारपसारको कार्यलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा समेत सघन रुपमा खोप लगाउने कार्य गरिएको छ ।”

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ३०, २०७४