बुधबार, बैशाख २६, २०८१

योजना तर्जुमा भन्दै जिल्ला भ्रमण, मन्त्रालय रित्तो

काठमाडौं, फागुन । आगामी बर्ष २०७४/७५ को लागि बजेट निर्माणका लागि भन्दै कृषि विकास मन्त्रालयका मन्त्रीदेखि सहसचिवसम्मका कर्मचारी देश दौडाहामा निस्किएकापछि कृषि विकास मन्त्रालय रित्तो भएको छ ।
पांचै विकास क्षेत्रमा गएर आगामी बर्षका लागि योजना बनाउने निहुंमा कृषि विकास मन्त्रालयको टोली भ्रमणमा निस्किएपछि मन्त्रालय रित्तो बन्न पुगेको छ । विगतका बर्षहरुमा पनि मन्त्रालयका कर्मचारीहरु यसैगरी योजना तर्जुमा भन्दै भ्रमणमा जाने गर्दथे । तर, ठोस योजना भने कहिल्यै पनि आउन सकेको देखिंदैन । ministry-of-agriculture
बजेट तथा कार्यक्रम निर्माणमा समयमा जिल्ला वा क्षेत्रीय स्तरबाट आएका योजनाहरु संधै छांयामा पर्ने गरेको छ । जति नै योजना तर्जुमा गोष्ठि जिल्ला जिल्लामा वा क्षेत्रीइ स्तरमा गर्ने गरिएका भएपनि विगतकै पुराना कार्यक्रममा बजेट थप घट गरेरै योजना बनाउने बाहेक केही पनि हुन सकेको छैन ।
योजना तर्जुमा गोष्ठीका नाममा मन्त्री, राज्यमन्त्री सचिव, सहसचिवहरु भ्रमणमा निस्कंदा मन्त्रालयको अन्य काम भने प्रभावित हुने गरेको देखिन्छ । कृषि विकास मन्त्रालयले फागुन ३ गते पूर्वाञ्चलबाट योजना तर्जुमा गोष्ठि शुरु गरेर आगामी १२ गते पाँचै विकास क्षेत्रभित्रका योजना सम्पन्न गरिसक्ने बताएको छ ।

प्रकाशित मिति: बुधबार, फाल्गुन ४, २०७३