शनिबार, बैशाख १५, २०८१

त्रियुगा नदीको किनारमा तीनदिने कृषि मेला सुरु

उदयपुर, पौष । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ र ६ को बीचस्थित त्रियुगा नदीको त्रिवेणीमा आजदेखि जिल्लास्तरीय तीनदिने कृषि मेला प्रदर्शनी सुरु भएको छ । जिल्ला कृषि बिकास कार्यालय उदयपुरको आयोजना र जिल्लाका दर्जनौँ विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोगमा जिल्लास्तरीय कृषि मेला प्रदर्शनी सुरु भएको जिल्ला कृषि विकास कार्यालय उदयपुरले बताएको छ । मकर सङ्क्रान्तिको अवसर पारेर आजदेखि २ गते सम्म उक्त प्रदर्शनी मेला सुरु भएको जिल्ला कृषि विकास कार्यालय उदयपुरका प्रमुख सरोजकान्त अधिकारीले बताए । मेलामा जिल्लाका कृषकले उत्पादन गरेका कृषि उपजका वस्तुहरू प्रदर्शनी गर्न २७ वटा स्टल व्यवस्थापन गरिएको पनि आयोजकले बताएका छन् ।
कृषि मेला प्रदर्शनीमा जिल्लाभरिका तीस कृषक समूह र अन्य कृषक गरेर अन्य झन्डै सय कृषकले समेत विभिन्न उत्पादित वस्तुहरू प्रदर्शनी गर्ने भएका छन् । यस्ता प्रदर्शनी गरिने कृषि उपजका वस्तुमा जिल्लामा उत्पादित विभिन्न अन्नबाली, तरकारी, फलफूल, माछा लगायतका कृषकले उत्पादन गरेका कृषि उपज वस्तु रहेको जिल्ला कृषि विकास कार्यालय उदयपुरका बालीविकास अधिकृत विश्वराज ढुङ्गानाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७३