शनिबार, बैशाख १५, २०८१

जुम्लामा उत्पादित जौको माग बढ्दो

जुम्ला, पौष । अत्यन्तै हेलाका रूपमा हेरिने कर्णालीमा उत्पादित जौ बालीको माग पछिल्लो समयमा बढ्न थालेपछि यसको निर्यातमा वृद्धि हुन थालेको छ ।
यातायातले कर्णाली क्षेत्र नजोडिउन्जेल धान पछि बढी उत्पादन गरिने जौ बाली उपभोग पनि बढी नै गरिन्थ्यो । तर सडक खुलेसँगै यसको उत्पादनमा कमी आएको छ । यसलाई हेलाका रूपमा हेरिने गरिएको छ । बालीको महत्व र यसको गुण अवगुणका विषयमा सूक्ष्म जानकारी नभएकाले यसलाई हेला गरिएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत धनप्रसाद देवकोटा बताए ।
“जौ बालीमा कार्बोहाइडेड र प्रोटिनको मात्रा बढी पाइन्छ । यसबाटै लिटोपिठो, हर्लिक्स, बिस्कुटजस्ता चिज बनाइन्छ । स्वास्थ्यका लागि जौ निकै लाभदायक मानिन्छ ।
जौको विशेषता र यसले दिने पोषणका विषयमा अवगत नभएकाले र आयातित खाद्यान्नमा निर्भर हुन थालेपछि पछिल्ला वर्षमा यसको उत्पादनमा कमी आएको छ । आव २०६७÷६८ मा चार हजार ४०० हेक्टर जमिनमा छ हजार ६०० मेट्रिक टन जौ उत्पादन भएको थियो । आव २०७२÷७३ सम्म आइपुग्दा तीन हजार ८५० हेक्टरमा तीन हजार ४६५ मेट्रिक टन जौ उत्पादन भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७३