शनिबार, बैशाख १५, २०८१

तीन बर्षमा दश हजार युवा पशुपालनमा जोडिने

चितवन, पौष । पशु सेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मलले मन्त्रालयले अहिले विद्यालयहरुमा अण्डा वितरणको योजना बनाएको बताएका छन् । चौथो राष्ट्रिय पोल्ट्रि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् । Bimal kumar nirmal
सरकारले बनाएको योजना अनुरुप अण्डा वितरण भएको खण्डमा हाल विक्री वितरण भईरहेको अण्डाको संख्या तीन गुणा बढ्ने महानिर्देशक निर्मलले बताएका छन् । उनले सरकारले व्यवायिक कुखुरा पालन क्षेत्रलाई विकास गर्ने अभियान शुरु गरिसकेको बताउंदै आउंदो तीन बर्षमा कम्तिमा दश हजार युवाहरुलाई पशुपालन व्यवसायमा जोड्न पशुपन्छी विकास मन्त्रालय लागि परेको बताए । जसका लागि मन्त्रालयले ४० जिल्लामा योजना बनाएर अगाडि बढिरहेको जानकारी दिए । सो योजना सफल बनाउनका लागि ३१ जिल्लामा कुखुरापालन सम्वन्धि ६४ वटा सहकारी स्थापना भईसकेको समेत महानिर्देशक निर्मलले बताए ।
पशुपन्छी क्षेत्रको विकास गर्नका लागि गुणस्तरीय उत्पादन हुनु जरुरी रहेको भन्दै उत्पादनको मूल्य र गुणस्तर निर्धारण एवं निगरानी गर्न मन्त्रालय तयार रहेको भन्दै औषधी र दानाको गुणस्तर अनुगमन गर्न मन्त्रालय र पशु सेवा विभाग सक्रिय भएर लागेको बताए ।
पछिल्लो समयमा पशपन्छी औषधी र दानाको गुणस्तरमा देखिएको समस्याका बारेमा आफूहरु जानकार रहेको बताउंदै उनले गुणस्तर निर्धारण र अनुगमनमा विभागको भूमिका अहिलेसम्म नभएको स्पष्ट पारे । औषधिको अनुगमन स्वास्थ्य सेवा विभाग र दानाको अनुगमन खाद्य विभागले गर्ने गरेको समेत उनले स्पष्ट पारेका छन् । दाना उद्योगका लागि चाहिने मकै, भटमास र सूर्यमुखीको पिना विदेशबाट ल्याउनुपर्ने बाध्यतालाई कम गर्न सरकारले योजना बनाएको उनले जानकारी दिए ।
‘कुखुरापालनमा ६० प्रतिशत खर्च दानामा हुन्छ । तर, दाना उद्योगलाई चाहिने कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्छ । यो अवस्था हटाउन हामी नेपालमा करार खेती प्रणाली अपनाउने सोचमा रहेको समेत विभागका महानिर्देशक निर्मलले बताए ।

प्रकाशित मिति: सोमवार, पुस १८, २०७३