आइतवार, बैशाख २३, २०८१

नक्कली लेटरप्याड प्रयोग गरी पशुऔषधी आयात

काठमाडौं,पौष । पशुपन्छीका लागि औषधी आयात गर्दा नेपालमा आयात स्वीकृत नभएका एवं गैरकानूनी ढंगले पशुपंन्छीका औषधी आयात गर्ने क्रम जारी छ । सम्वन्धित सरोकारवाला निकायले ध्यान नदिंदा पशुपन्छी औषधी आयात गर्दै आईरहेका केही व्यापारीहरुले राज्यलाई करोडौं राजश्व नोक्सान गराईरहेका छन् । vet
सरकारले आयात स्वीकृत नदिएको पशुपन्छीका औषधी आयात गर्नका लागि नक्कली लेटरप्याड प्रयोग गरि औषधी आयात गरिएको कृषि साप्ताहिकलाई फेला परेको छ ।
पूर्वाञ्चलका ग्रामिण भेगसम्म पशुऔषधी विक्री वितरण गर्दै आईरहेको भारद्धाज औषधालय नामक कम्पनीले गत महिना मात्र कृषि विकास मन्त्रालयको नक्कली लेटरप्याड प्रयोग गरी पशुपन्छीका लागि विभिन्न देशबाट आयात गरिएका करोडौंका पशु औषधी त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट भित्र्याउन सफल भएको छ । कृषिलाई प्राप्त जानकारी अनुसार कृषि विकास मन्त्रालयबाट पशुपन्छी विकास मन्त्रालय विभाजन भएको एक बर्ष वितिसकेको छ । पशुपन्छी औषधी एवं फिड सप्लिमेण्ट आयात गर्नका लागि पशुपन्छी विकास मन्त्रालय मातहतको पशु सेवा विभागले सिफारिस दिने भएपनि सो भारद्धाज औषधालयले भने कृषि विकास मन्त्रालय पशु सेवा विभाग लेखिएको लेटरप्याडमा सिफारिस पत्र बनाएर अनाधिकृत रुपमा पशु औषधी भित्र्याउन सफल भएको हो । सो विषयमा औषधालयका विष्णु गौतमलाई सम्पर्क गर्दा उनले पशु औषधीका बारेमा चासो दिन को हो भन्दै मोवाइल स्वीच अफ गरेका छन् । औषधी आयात गर्ने क्रममा पशु सेवा विभागले सिफारिस दिने विषयमा पशु सेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मलले आफूहरुले फिड सप्लिमेण्टका लागि सिफारिस दिने गरेको भएपनि औषधी आयात गर्ने विषयमा औषधी व्यवस्थापन विभागले नै नियमन गर्ने बताए । विभागको नक्कली लेटरप्याड प्रयोग गरी पशु औषधी भित्र्याउनेलाई पशु सेवा विभागले कार्वाही गर्ला ? त्यो भने हेर्न वांकी नै छ ।

प्रकाशित मिति: आइतवार, पुस १७, २०७३