बिहिबार, बैशाख २०, २०८१

किसानले गरे हितकोष स्थापना

म्याग्दी, पौष । किसानहरु आफैले मिलेर आफ्ना लागि हितकोष स्थापना गरेका छन् । म्याग्दीको भकिम्ली–२ छेपारेका बासिन्दाले कृषक हितकोष स्थापना गरेका हुन् । छेपारेमा रहेको मिलीजुली कृषक समूहले एक लाख रुपैयाँको कृषक हितकोष स्थापना गरेको हो । समूहमा आबद्ध १६ जना कृषकले मासिक रूपमा बचत सङ्कलन र सामूहिक तरकारीखेती मार्फत भएको आम्दानीले कोष स्थापना गरिएको सदस्य रुद्र श्रीसले जानकारी दिए ।
कोषमार्फत विपन्न समुदायका कृषकलाई मलबीउ खरिदका लागि सहुलियत ब्याजदरमा रकम उपलब्ध गराउने गरिएको छ । कोषबाट हाल सात जनाले वार्षिक १ प्रतिशत ब्याजदरमा ऋण लगेका छन् । एक जनालाई एक पटकमा रु पाँच हजारदेखि रु दश हजारसम्म ऋण उपलब्ध गराउने गरिएको छ । उनीहरूले मासिक रूपमा बस्ने बैठकमा प्रतिव्यक्ति रु ५० का दरले समूहमा बचत गर्छन् ।
सो समूहमार्फत छेपारेमा तीन रोपनी जग्गा भाडामा लिएर सामूहिक तरकारीखेती समेत गरिएको छ । समूहको कोष वृद्धि, अनुभव आदानप्रदान र व्यावसायिक तरकारी खेतीतर्फ आकर्षण गर्न सामूहिक तरकारीखेती गरिएको श्रीसले बताए । वार्षिक पाँच हजार रुपैया भाडा तिर्ने गरी जग्गा भाडामा लिइएका हो ।
एक याममा तरकारी बेचेर ३० हजार रुपैयाँसम्म आम्दानी गरेका उनीहरूले खर्च कटाएर पन्ध्र हजार हितकोषमा बचत गरेका छन् । सो जग्गामा उनीहरूले बन्दा, काउली, गोलभँेडालगायत मौसमी तथा बेमौसमी तरकारीखेती गर्ने गरेका छन् ।

प्रकाशित मिति: सोमवार, पुस १८, २०७३