शनिबार, बैशाख २२, २०८१

कृषि राज्यमन्त्री आफै खोलिन् कार्यकक्षको ढोका

काठमाडौं, असोज । दशैंका लामो विदापछि शुक्रबार सिंहदरबार भित्र रहेको सम्पूर्ण सरकारी कार्यालयहरु सुनसान देखिन्थे । प्रधामन्त्री कार्यालयदेखि संसद सचिवालयको कार्यालयसम्म सुनसान थियो । प्राय मन्त्रालयका मुख्य ढोका, हरेक अधिकृतका कार्यकक्षदेखि मन्त्रीसम्मका ढोका खुल्ला भएपनि कहि कोही पनि भेटिएनन् । धेरै मन्त्रीको कार्यकक्षमा त सचिवालयमा समेत सुनसान थियो ।Radhika-Tamang
कृषि विकास मन्त्रालयको हालत पनि अन्य मन्त्रालय जस्तै थियो । कृषि विकास मन्त्री गौरीशंकर चौधरी मन्त्रालयमा थिएनन् । उनको सचिवालय पनि रित्तो थियो । तर कृषि राज्यमन्त्री राधिका तामाङको कार्यकक्ष खोल्न कर्मचारी समेत नभएपछि उनले आफैले साँचो मागेर कार्यकक्ष खोलिकी थिइन् । अन्य दिनमा जस्तै समयमा नै मन्त्रालय पुगेकी राज्यमन्त्री तामाङ कार्यालय सुनसान देखेपछि छक्क परिन् । आफ्नो कार्यकक्ष समेत खोल्न व्यक्ति फेला नपरेपछि उनी भन्दैथिन् सिंहदरबारको त यो हालत छ भने अन्य कार्यालयको अवस्था के होला ।
कृषि अनलाइनसंगको कुराकानीमा उनले भनिन् हामी जनताको सेवा गर्न बसेका व्यक्ति कार्यालय खुलेको दिन कार्यालयमा हुनु पर्दछ । किसानहरुका धेरै समस्या छन् । म आफै पनि किसानबाटै राज्यमन्त्री भएकी हुं । त्यसैले राज्यमन्त्रीको कुर्सीमा बसुञ्जेल किसानका पक्षमा आफू प्रतिवद्ध भएर लागिरहने उनले बताईन ।
दशैंको विदा खुलेपछिको पहिलो दिन शुक्रबार परेकाले धेरै कर्मचारीहरु नआएको कृषि विकास मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव काशीराज दाहालले बताए । टिकाटालो गर्दा गर्दा म पनि आधा घण्टा ढिलो आईपुगे उनले मुस्कुराउंदै बताए ।
कृषि सचिव उदयचन्द्र ठाकुर भने कार्यालय समयमा नै आईपुगेका थिए । दिनभर कार्यालय बसेका सचिव ठाकुरले राज्यमन्त्रीसंगको छलफल र केही वाँकी काम समेत सम्पन्न गरेको बताए ।

प्रकाशित मिति: शनिबार, अशोज २९, २०७३