काठमाडौं भाद्र । कृषि मन्त्री गौरीशंकर चौधरीले आफू थारुको छोरा भएकोले इमान्दारी पूर्वक कुरा गर्ने र कृषिको विकासका लागि मन्त्रालयका विज्ञ र किसानहरुको फ्यूजन गर्दछु भनेको दुईदिन पनि वित्न नपाउंदै उनले किसानलाई कन्फ्यूज बनाउन थालिसकेका छन् । पूर्वमन्त्री हरिबोलप्रसाद गजुरेलले किसानहरुका लागि पेन्सनको कुरा ल्याए ।
गत आर्थिक बर्षबाटै किसानहरुलाई पेन्सन दिने कुरा पनि भाषण धेरै गरे तर पेन्सन गजुरेलका लागि टेन्सन भयो । किसानहरुले पेन्सन आश्वासनका रुपमा मात्र पाए । अहिले फेरि चालु आर्थिक बर्षमा किसानलाई पेन्सन व्यवस्थाका लागि बजेट छुट्याइएको नभएपनि नव नियुक्त कृषि मन्त्रीले किसानलाई पेन्सन दिन्छु भन्दै कन्फ्यूजन गराउन थालेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले किसानहरुलाई पेन्सन दिने भ्रम छर्न शुरु गरिसकेका छन् ।
हुन त मन्त्रीले किसानलाई पेन्सन दिने कुरा सहज छ भन्ने भ्रमलाई बुझ्न सकेका छैनन् होला । मन्त्रीका पेरिफेरिमा बस्ने अनि विदेशी दाताको भरमा एनजिओ चलाएर जागिर खाईरहेकाहरुले पेन्सन सजिलै छ भनेर सेतो कागजमा योजना बनाएर पनि देखाएका होलान् । त्यसैले कृषि मन्त्रीले यतिखेर पेन्सनका कुरा उठाउनु भन्दा पनि गुणस्तरीय बीउ, मल किसानहरुले पाएका छन् कि छैनन् भन्ने कुरातिर ध्यान दिने हो भने पेन्सन भन्दा ठूलो गुन लाग्दथ्यो कि ?
जनतालाई धान रोप्न सिकाउन छाडेर बोराको चामल खान किसाउने एनजिओका राम्रा अभिव्यक्ति भन्दा तत्काल नेपाली किसानहरुका लागि गर्नु पर्ने काम के के हो कार्यान्वयन हुने कुरा मात्र भाषण गर्दा मन्त्री चौधरीका लागि उचित होला कि ? नत्र विज्ञ र किसानको फ्यूजन गराउने सोच राखेका कृषि मन्त्री कन्फ्यूजमा मात्र पर्ने हो कि ?
Add Comment