आइतवार, बैशाख २३, २०८१

कालीमाटी तरकारी बजार सुधार हुन्छ ?

काठमाडौं । कृषि विकास मन्त्रालयले सञ्चालन गरेको मुलुकको सवैभन्दा ठूलो तरकारी बजारले सुधारको संकेत देखाएको छ । काठमाडौंको मुटु कालीमाटीमा रहेको सो तरकारी बजार सुधार गर्नका लागि अहिले बजार समितिका अध्यक्ष एवं कृषि विकास मन्त्रालयका सहसचिव काशीराज दाहाल डटेर लागेका छन् भने समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेल पनि बजार व्यवस्थित गर्नका लागि प्रयत्नशील देखिएका छन् ।
कालीमाटी तरकारी बजारमा अव्यवस्थित रुपमा गैर कानूनी ढंगले बजार सञ्चालन भईरहेको भन्दै कृषि अनलाईनले गत महिना समाचार प्रकाशन गरेको थियो । अहिले समाचार प्रकाशन पश्चात कृषि विकास मन्त्रालय बजार व्यवस्थित गर्ने तर्फ क्रियाशील भएकै कारण मूलगेटमा राखिएका साना खुद्रा पसलहरुलाई विस्थापित गरिसकिएको देखिन्छ । समाचारकै कारण तरकारी तथा फलफूल बजारभित्र राखिएका किराना पसलहरु पनि भटाभट हटिरहेका छन् । अहिले कै रुपमा समितिले काम गर्ने हो भने दुईदशकदेखि सुँध्रन नसकेको कालीमाटी तरकारी तथा फलफूल बजार सुधार हुन्छ भन्नेमा ढुक्क भएको समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेल बताउंछन् । हामी अहिले अव्यवस्थित गैर कानूनी रुपमा स्थापना भएका पसल, कवलहरु हटाउँदैछौ । विस्तारै यसलाई उत्कृष्ठ बजारका रुपमा बनाउन पार्किङ्ग तथा सरसफाईमा पनि ध्यान दिएर अगाडि बढिरहेको उनले बताए ।
पौडेल भन्छन् अहिले हामीलाई सुरक्षा निकायबाट पूर्ण रुपमा साथ छ । पहिले जस्तो हुलहुज्जत गरेर बजार कब्जा गर्ने अवस्था रहँदैन् । पौडेलले भने जस्तै अहिले पनि केही पसल कवल गैरकानूनी रुपमा छन् । विदेशमा रहेका व्यक्तिको नाममा समेत पसल कवल भाडामा लिएको देखिन्छ । अझ फुटपाथमा राखिएका पसल हटाइएको भएपनि फुटपाथमा नै बनाएका टहरा भने भत्काएको छैन । फुटपाथमा बनेका टहराका १५ बर्षका लागि सम्झौता गरेर बनाएकोले त्यस विषयमा पनि छलफल भईरहेको पौडेलले बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन २८, २०७३