शुक्रबार, बैशाख २८, २०८१

किवी खेती: चर्चा बढी व्यापार कम

काठमाडौं, श्रावण । किवी खेती अहिले चर्चाको खेतीका रुपमा चिनिएको छ । किवी खेती गर्ने किसानहरुका लागि कृषि विकास मन्त्रालय मातहतमा रहेका आयोजनाहरुले पनि अनुदान सहयोग दिंदै आईरहेका छन् । तर, किवी खेतीको जति चर्चा गरिएको छ त्यत्ति नै यसको बजारीकरणमा कृषि विकास मन्त्रालयले चासो दिन सकेको छैन । सस्तो लोकप्रियताका लागि भएका चर्चाले यतिखेर किवी खेती गरिरहेका किसानहरुलाई आफ्नो व्यवसाय निल्नु न ओकल्नु जस्तै भएको छ । kiw
किवी खेतीबाट प्रशस्त आम्दानी हुने हावादारी प्रचार प्रसारका कारण पनि धेरै किसानहरु किवी खेती तिर आकर्षित भईरहेका पनि छन् । शुरुमा किवी खेती शुरुवात गर्ने व्यवसायीहरुहरु किवीको विरुवा विक्री गरेर नै आफ्नो लगानी मात्र होइन राम्रो प्रतिफल लिईसकेका छन् । पछिल्लो समयमा किवी खेती गर्ने किसानहरुको संख्या पनि हवात्तै बढ्दै गईरहेको देखिन्छ । यही अनुपादमा उत्पादित किवीको विक्री भयो कि भएन यस विषयमा न त व्यवसायीहरुले नै चासो लिएका छन् न त कृषि व्यवसाय प्रवद्र्धन कार्यालयले नै चासो दिन सकेको देखिन्छ ।
दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, खोटाङ्, ओलखढुङ लगायत दर्जनौ पहाडी जिल्लाका किसानहरु बुझिनबुझि किवी खेती तर्फ उत्साहित भएर लागेका छन् । जसले गर्दा किवीको विरुवा विक्री गर्ने व्यवसायीलाई धेरै नै फाइदा पुगिरहेको छ । अहिले उत्पादन भईरहेको किवी नेपाली बजारमा ७ सयदेखि ८ सयम रुपैयां प्रति किलो विक्री हुन्छ भनिएता पनि किवीको व्यापारबाट भने सन्तुष्टि हुने ठाउं देखिएको छैन ।
किवी खेती गर्ने किसानहरु केही बाहेक सवैले बजारीकरण गर्न सकेका छैनन् । कृषि विकास मन्त्रालयले विगतका दिनमा किवी खेतीका लागि अनुदान लगायतमा जसरी सहयोग ग¥यो अहिले बजारीकरण गर्नका लागि कुनै पनि सहयोग नगरेको किसानहरुले गुनासो गर्न थालेका छन् । कतिपय किसानहरुले महंगो मूल्य पाउने आशामा किवीका विरुवाहरु थप रोप्ने काम पनि गरिसकेका छन् । तर किवी उत्पादन पश्चात लगानीको प्रतिफल कसरी लिने भन्नेमा अझै पनि अन्योलमा नै देखिएका छन् । किवी फललाई सुन्तला जस्तै प्रशस्त मात्रामा विक्री हुन्छ भन्ने अल्पज्ञानका कारण यतिखेर किवी फलको खेती गरिरहेका किसानहरु चिन्तामा देखिएका छन् । नेपाली जनताहरु कमै मात्रले किवी प्रयोग गर्ने गरेको देखिन्छ । उच्च घरानियां र विदेशमा किवीको स्वाद लिएकाहरुले मात्र यो प्रयोग गर्ने गरेको किवी विक्री गर्ने विक्रेताहरुको भनाई छ ।
किवी उत्पादन नेपाली बजारका लागि हो या निर्यात गर्नका लागि हो जवसम्म ठम्याउन सकिंदैन तवसम्म यसको बजार व्यापक हुने देखिंदैन । अहिले त यसको व्यापकता केवल किवी खेतीमा मात्र भईरहेको छ । नयां फल भएका कारण पनि नेपाली जिब्रोले स्वाद लिन सकिरहेको छैन । त्यसकारण सरोकारवाला मन्त्रालय र कृषि बजार तथा प्रवद्र्धन निर्देशनालयले पनि किवी प्रयोग गर्नेका लागि उपभोक्ताहरुलाई जानकारी गराउन आवश्यक छ ।
यदि कृषि विकास मन्त्रालयले किवी खेतीमात्र गराउने र त्यसको बजारीकरणमा जिम्मा नलिने हो भने किवी खेती पनि विगतमा भएको एलोभेरा खेती भन्दा फरक नपर्ला भन्न सकिंदैन । विगतमा जसरी एलोभेरामा किसानहरुको आकर्षण बढेको थियो अहिले त्यसैगरी किवी फल रोप्ने किसानहरुको भीड नै बढेको छ । अवको दिनमा बजारीकरणका अभावले नै किवी फल पनि एलोभेरा जस्तै हुने हो कि भन्ने चिन्ताले किसानहरुलाई सताईरहेको छ । किवी नेपाली बजारका लागि कति माग छ वा हामीले कति किवी फल निर्यात गर्न सक्छौं भन्ने कुराको यकिन नै नगरी अन्धधुन्धसंग किवी फलको खेती गर्न लगाउंदा त्यसले भविष्यमा ठूलो घात पो गर्ने हो कि ?

प्रकाशित मिति: सोमवार, साउन १७, २०७३