सोमवार, जेष्ठ ७, २०८१

आय बृद्धि गर्न बाख्रा वितरण

भक्तपुर,१७ श्रावण । आयश्रोत नभएका दलित र न्यून आय भएका किसानको आयस्तर वृद्धि गर्ने उद्देश्यले जिल्ला पशुसेवा कार्यालयले किसानलाई बङ्गुर र बाख्रा वितरण गरेको छ ।
बङ्गुर तथा बाख्रा साटासाट कार्यक्रमअन्तर्गत समूहमार्फत किसानलाई निःशुल्क वितरण गरिएको हो । बङ्गुर र बाख्रा ब्याएपछि किसानले एक÷एक वटा पाठी फर्काउनुपर्ने प्रावधान रहेको छ ।
कार्यालयले सूर्यविनायक नगरपालिकास्थित नंखेल सेवा केन्द्रमार्फत र मध्यपुर थिमि नगरपालिकाको बोडे सेवा केन्द्रमार्फत २०–२० वटा बङ्गुरको पाठी र एक–एक वटा उन्नत जातको भाले बङ्गुर वितरण गरिएको कार्यालयका पशु चिकित्सक एवम् सूूचना अधिकृत उमेशलाल प्रधानले जानकारी दिएका छन् ।
कुल रु एक लाख ६० हजार मूल्यका बङ्गुर वितरण गरिएको छ । बङ्गुर पाउने किसानले ब्याएपछि दुई वटा पाठी फिर्ता गर्नुपर्ने सर्त राखिएको छ । कार्यालयले नंखेल, खरिपाटी, झौखेल र छालिङ केन्द्रमार्फत रु दुई लाख ४० हजार बराबरको बाख्रा तथा रु ४० हजार बराबरको उन्नत जातको चारवटा बोका वितरण गरेको छ । बाख्राका लागि घाँस, परजीवी नियन्त्रणको औषधि, खोप र किसानलाई तालिमको समेत व्यवस्था गरेको बताइएको छ ।

प्रकाशित मिति: सोमवार, साउन १७, २०७३