सोमवार, बैशाख ३१, २०८१

न्यूजिल्याण्डबाट ल्याइएका भेडा खतरामा

जुम्ला, साउन । दुई वर्षअघि न्युजिल्यान्डबाट जुम्लामा ल्याइएका रोम्नी मार्स र कुपोर्थ जातका भेडा संरक्षण कार्य जटिल बन्दै गएको छ । भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रम जुम्लाले दुवै जातका २५ भेडा नेपाली सेनाको सहायताले आकास मार्गबाट जुम्ला पु¥याएको थियो । न्युजिल्यान्डबाट काठमाडौँ हुँदै जुम्ला पु¥याउँदासम्म रु १० लाख बराबर २५ भेडाको लागत पुगेको गुठीचौर जुम्लाका तत्कालीन संयोजक लुमानिधि पाण्डेले बताए । अहिले अनुसन्धान कार्यक्रम जुम्ला र केन्द्रीय भेडाबाख्रा कार्यालयलाई यी भेडा जोगाउन निकै ठूलो सङ्कट आइलागेको भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रम गोठीचौर जुम्लाका निमित्त कार्यालय प्रमुख बोधराज बरालले बताएका छन् । मुख्यतः हावापानी नमिलेका कारण भेडा जोगाउन मुस्किल भइरहेको छ, बताइएको छ ।
जुम्ला पु¥याइएका २५ वटा भेडामध्ये सात–आठ वटा मरिसकेका छन् । केही जन्मेर फेरि २२ पुगेका छन् भने क्रसबाट जन्मिएका ३० भेडा भने राम्रो अवस्थामा छन् । बाँकी रहेका र नयाँ जन्मेका भेडा जोगाउन उच्च व्यवस्थापन पुग्न नसकेको हो । चिसोका कारण भेडामा श्वासप्रश्वास बढी हुने, नाकबाट पानी चुहाउने, खान मन नगर्ने र कमजोर हुँदै निमोनियाले बढी ग्रसित भएर मर्ने गरेको अनुसन्धान केन्द्रले बताएको छ ।
भेडासम्बन्धी विशेषज्ञता भएका वैज्ञानिकहरूको अभावका कारण सामान्य उपचारबाहेक थप उपचार हुन नसक्नुले व्यवस्थापन कार्य सङ्कटोन्मुख अवस्थामा पुगेको श्रोतले बताएको छ । यिनै जातका भालेबाट स्थानीय पोथीहरूमा क्रस गराई बच्चा उत्पादनसमेत गरिएको छ । स्थानीय भेडासँग क्रस गरेर यो जातलाई फैलाउने र यसको ऊनबाट आफ्नै देशमा कच्चा पदार्थ उत्पादन गर्ने मुख्य उद्देश्यका साथ भेडा ल्याइएको थियो ।

प्रकाशित मिति: आइतवार, साउन ९, २०७३