सोमवार, बैशाख ३१, २०८१

सिँचाइ अभावमा खेत बाँझै

पाल्पा, ४ साउन । सिँचाइ अभावका कारण जिल्लाका अत्रौली, बैडी र पुट्टारका किसानले धान रोप्न पाएका छैनन् । अत्रौली सिँचाइ नहरको विभिन्न ठाउँमा मर्मत तथा पुनःनिर्माण भइरहेकाले किसानले समयमा नै धान रोप्न नपाएका हुन् । खेतमा हरियाली छाउने बेलामा ब्याडमै बीउ पहेँलिन थालेको किसान बताउँछन् । नहरको मुहानदेखि पुछारसम्मका विभिन्न भाग जगैदेखि भत्किएका छन् । “मर्मतको काम भइरहेकाले नहरमा पानी सुचारु गर्न नसकिएको हो,” अत्रौली सिँचाइ योजनाका अध्यक्ष रामजी अर्यालले बताए । असारको अन्तिम साताबाट पानी सुचारु गर्न नहरको मर्मतको काम सुरु गरेको हो । “रोप्ने बेलामा पानी छैन,” अगुवा किसान कमलप्रसाद अधिकारीले भने । बीउ छिप्पिदै गएकाले उत्पादनमा कमी आउने हो कि भन्ने उनलाई चिन्ता छ ।

प्रकाशित मिति: मङ्लबार, साउन ४, २०७३