शनिबार, बैशाख १५, २०८१

बागलुङलाई लप्सीको ‘पकेट क्षेत्र

बागलुङ,२८ असार । कृषि विकास मन्त्रालयले हरेक जिल्लालाई कुनै न कुनै बस्तु वा बालीमा आत्मनिर्भर बनाउने योजना गतबर्षदेखि नै बनाएको भएपनि कार्यान्वय हुन सकिरहेको छैन । यद्यपी जिल्ला जिल्लामा स्थानीय रुपमा नै कृषि उपजहरु उत्पादन बृद्धि गरी पकेट क्षेत्र बनाउने अभियान भने चलिनै रहेको छ । त्यही क्रममा बागलुङ जिल्लाको जैदी र रायडाँडा गाविसलाई लप्सीको पकेटक्षेत्र बनाइने तयारी गरिएको छ । दुबै गाविसका चार सामुदायिक वनमा योवर्ष पाँच हजार ९०० लप्सीका बिरुवा रोपिएको छ । जिल्ला वन कार्यालयले सामुदायिक वनका उपभोक्तालाई निःशुल्क रुपमा बिरुवा उपलब्ध गराएको हो ।
जैदीको देछो सामुदायिक वन र रायडाँडा– ३ को एकिनधारा कल्लेरी, दोहोटे र ढाँडपानी सामुदायिक वनमा लप्सी लगाइएको हो । जिल्ला वन अधिकृत विन्दुकुमारी मिश्रकाअनुसार जैदीमा तीनहजार ५०० र रायडाँडामा दुईहजार ४०० लप्सीको बिरुवा रोपिएको छ । जिल्लामा सञ्चालित वनदशक कार्यक्रम अन्तर्गत लप्सीको पकेटक्षेत्र निर्माणको कार्यअघि बढेको अधिकृत मिश्रले बताए ।
‘बागलुङमा लप्सीको सम्भावना राम्रो छ, यसको व्यावसायीकरण हुनसकेको छैन’ अधिकृत मिश्रले भने ‘दक्षिण भेगका केही ठाउँमा नमुना पकेटक्षेत्र बनाउने योजना बनाएका छौ ।’ त्यस क्षेत्रमा वर्षौं पहिले लप्सीको रुख प्रशस्त हुने गरेपनि पछिल्लो समय नासिँदै गएको उनको भनाइ छ ।
जिल्लाको अन्य क्षेत्रमा पनि लप्सी विस्तार गर्न सकिने अधिकृत मिश्रले बताए । छिमेकी पर्वत जिल्लामा लप्सी प्रशोधन केन्द्र रहेकाले केन्द्रको पायकपर्ने क्षेत्रमा तत्कालको लागि लप्सी विस्तार गर्न लागिएको हो । बागलुङमा लप्सी फले पनि प्रशोधन केन्द्र र लप्सीबाट बन्ने वस्तु उत्पादन गर्ने कुनै उद्योग सञ्चालनमा छैन ।
बहुआयामिक रुखको प्रजातिमा पर्ने लप्सी घाँस, काठ र फलका लागि उत्तिकै महत्वपूर्ण रहेको सामुदायिक वन उपभोक्ता महासङ्घ बागलुङका अध्यक्ष प्रेम लामिछानको धारणा छ । उनले छिटफुट रुपमा बागलुङको वन क्षेत्रमा लप्सी पाइए पनि विस्तार हुन नसकेको उल्लेख गरे । लप्सीबाट अचार, क्याण्डी, माडालगायतका विभिन्न वस्तु बनाउन सकिने उनको भनाइ छ । त्यस्ता वस्तु बिक्रीको लागि बजारको समस्या नरहेको भन्दै उनँले योजनावद्ध रुपमा लप्सीको व्यावसायिक उत्पादन गरिनपर्ने बताए । लप्सीको पकेटक्षेत्र बनेपछि त्यसले स्थानीय उपभोक्ताको जीविकोपार्जनमा सुधार ल्याउने जिल्ला वन कार्यालयको विश्वास छ ।

प्रकाशित मिति: मङ्लबार, असार २८, २०७३