बुधबार, बैशाख २६, २०८१

पशु कार्यालयले बांड्यो सतचालिस लाख

विराटनगर,२७ असार । आर्थिक बर्षको अन्त्यमा आएर भएपनि अनुदानको रकम सकाउने काममाले तीव्रता पाईरहेका बेला जिल्ला पशु सेवा कार्यालयले पनि पशुपालनका लागेका युवालाई पशुपालनतर्फ आकर्षित गर्न भन्दै ४७ लाख अनुदान रकम वितरण गरेको छ । चालु आवमा कार्यालयले युवा लक्षित व्यावसायिक गाईभैँसी प्रवद्र्धन, व्यावसायिक बाख्रा प्रवद्र्धन र पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रमअन्तर्गत २५ जना युवा किसानलाई उक्त रकम वितरण गरिएको सो कार्यालयले जनाएको छ । व्यावसायिक गाईभैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत साना फार्म स्थापनाका लागि १० किसानलाई रु एक लाख ४० हजारका दरले रकम वितरण गरिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख सुशील अधिकारीले जानकारी बताए ।
त्यसैगरी मझौला आकारको फार्म सुदृढीकरणका लागि तीन जना किसानलाई रु तीन लाखका दरले रु नौ लाख वितरण गरिएको छ । सोही कार्यक्रमअन्तर्गत ठूलो फार्मको यान्त्रीकरण कार्यक्रमका लागि प्रतिकिसान रु चार लाख अनुदान रकम उपलब्ध गराइएको छ ।
यस्तै व्यावसायिक बाख्रा प्रवद्र्धन कार्यक्रमअन्तर्गत चार किसानलाई रु ६ लाख वितरण गरिएको छ । पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रमअन्तर्गत सात किसानलाई रु १४ लाख अनुदान रकम उपलब्ध गराइएको छ । अनुदानको सहि सदुपयोग होस् भन्ने हेतुले रकम प्राप्त किसानले सो व्यवसाय तीनदेखि पाँच वर्ष बन्द वा छोड्न नपाउने व्यवस्था गरिएको कार्यालय प्रमुख अधिकारीले बताए । -शैल शाह

प्रकाशित मिति: सोमवार, असार २७, २०७३