शुक्रबार, जेष्ठ ४, २०८१

सिन्धुलीको माटोमा अम्लीयपन

सिन्धुली,२७ असार । पछिल्ला बर्षहरुमा उत्पादन बढाउने नाममा बढ्दै गईरहेको रासायनिक मलको अत्याधिक प्रयोगले सिन्धुलीमा समेत माटोमा अम्लीयपन बढ्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयले पाँच स्थानमा माटो परीक्षण गर्दा दूधौलीमा बढी अम्लीयपन रहेको कृषि प्रसार अधिकृत विजय मण्डलले बताए । अम्लीयपन हटाइ तटस्थ माटो बनाउन माटोमा प्रतिकठ्ठा ८० देखि ९० किलो कृषि चुनको प्रयोग गर्न सकिन्छ ।
सिफारिस गरिएको चुन दुई÷तीनपटक प्रयोग गर्नुपर्छ । माटो परीक्षणमा १४ पिएचमानसम्म परीक्षण हुने र ६.५ भन्दा कम पिएचमान आएको माटोमा अम्लीयपन हुने र ७.५ भन्दा बढी आएमा उक्त माटोमा छारिय हुने मण्डल बताए । अम्लीय वा छारिय दुबै भएको माटोमा उब्जनी कम हुन्छ भने तटस्थ माटोमा उब्जनी बढी हुन्छ । यस वर्ष जिल्ला कृषि विकास कार्यालयले दूधौली, कपिलाकोट, दुम्जा र झगाझोलीमा दुई पटक माटो परीक्षण शिविर सञ्चालन गरेको थियो । जिल्लामा माटो परीक्षण गर्ने उपकरण नभएकाले माटो व्यवस्थापन निर्देशनालयले घुम्ती माटो परीक्षण ल्याब ल्यायर परीक्षण गरेको थियो ।
परीक्षण गर्दा महाभारत क्षेत्रको माटोमा अम्लीयपन नपाइएको र उत्पादनका हिसाबले पकेटक्षेत्र मानिएको दूधौली, कमलाखोच र मरिण क्षेत्रमा अम्लीयपन भएको पाइएको छ । जथाभावी रासायनिक मलको प्रयोग नगर्न कार्यालयले किसानलाई आग्रह गरेको छ । परीक्षण गर्न नसक्ने ग्रामीण क्षेत्रका किसानले माटोमा अम्लीयपन भएको शङ्का लागेमा प्रतिकठ्ठा १० किलो कृषि चुन प्रयोग गर्नसक्ने कार्यालयले जनाएको छ ।
किसानले कृषि चुन छरेर जमिन जोत्नुपर्ने हुन्छ । यसरी जोतेको जग्गामा एक महिनासम्म कुनै पनि बाली लगाउन नहुने कार्यालयले जनाएको छ । कृषि चुनले माटोलाई कुनै हानी नगर्ने भएकाले हरेक चार÷पाँच वर्षमा माटो परीक्षण गरी कृषि चुन प्रयोग गर्नुपर्ने कार्यालयले किसानलाई सल्लाह दिएको बताएको छ ।

प्रकाशित मिति: सोमवार, असार २७, २०७३