शुक्रबार, जेष्ठ ४, २०८१

भूकम्प पीडित किसानहरुले कोरली गाई पाउँदैनन्

shyam paudel

श्यामप्रसाद पौडेल

प्रवक्ता एवं सहसचिव

० कोरली गाई वितरण गर्ने भन्ने कुरा त हरायो नि ?
भूकम्प पीडित किसानहरुका लागि २ हजार कोरली गाई वितरण गर्ने कार्यक्रम थियो । त्यसका लागि पशु सेवा विभाग मातहतमा रहेको पशु उत्पादन निर्देशनालयबाट नै गर्ने थियो । दुई हजार गाई खरिद गर्नका लागि सार्वजनिक खरिद नियमावली अनुरुप नै गनुपर्ने हुन्छ । त्यसका लागि टेण्डर प्रक्रिया अगाडि बढाइएको थियो ।
० टेण्डर प्रक्रिया अगाडि बढेर पनि किन किसानहरुले पाएनन् त ?
किसानहरुलाई गाई वितरण गर्ने भनेर टेण्डर प्रक्रिया अगाडि बढ्यो तर पहिलो पटक टेण्डर नै परेन । टेण्डर नपरेपछि पुन टेण्डरका लागि सूचना प्रकाशन टेण्डर प्रक्रियामा गएको हो । दोस्रो पटक टेण्डरमा जांदा एउटा प्रस्ताव परेको भएपनि मूल्यांकन गर्दा बोलपत्रको शर्त नपुगेका कारण स्वीकृत गर्न नमिल्ने मूल्यांकन समितिले सिफारिस गरेकोले यो आर्थिक बर्षमा २ हजार कोरली गाई वितरण गर्ने कार्य गर्न सकिएन ।
० त्यसो भए अव भूकम्प पीडित किसानहरुले कोरली गाई नपाउने भए ?
हो, यो चालु आर्थिक बर्षमा भूकम्प पीडित किसानहरुले कोरली गाई नपाउने भए । वास्तवमा यो कार्यक्रम गत बर्ष भूकम्प प्रभावित जिल्लाका किसानहरुका लागि के गर्न सकिन्छ भन्ने किसिमले पशु सेवा विभागबाट नै विनियोजित बजेट मध्येबाट २४ जिल्लाका किसानहरुलाई २ हजार कोरली बाच्छी वितरण गर्ने भनेर बजेट समाबेश भएको हो । यसका लागि कार्यविधि निर्माण गरी हरेक जिल्लामा ८० देखि ८५ को संख्यामा कोरली बाच्छी जाने थियो । त्यही अनुसार किसानहरु छनौट प्रक्रियासँगसँगै अगाडि बढाएको भएपनि सार्वजनिक खरिद ऐन अनुरुप अगाडि बढ्दा किसानहरुले गाई नपाउने अवस्था आएको हो ।
० किन यस्तो भयो त यति ठूलो रकमको अनुदानमा प्रक्रियामा जानु पर्दछ भन्ने विचार गरिएन र ?
यो कोरली बाच्छा खरिद भनेको अरु सामग्री खरिद गरे जस्तो भएन । यसको प्रकृति पनि फरक छ । भने यस्तो किसिमको कार्य नियमित रुपमा हुने र यसका लागि आवश्यक संघसंस्थाहरु पनि बजारमा पाईने अवस्था पनि हुंदैन । त्यसले गर्दा किसानहरुले गाई नपाउने अवस्था आएको हो ।

० अव भूकम्प पीडित किसानहरुलाई के राहत दिनु हुन्छ त ? प्रचारले मात्र किसान खुशी हुने देखिएन त ?
हामीले आगामी बर्षका लागि किसानहरुलाई पुर्ननिर्माण प्राधिकरण मार्फत केही गोठहरु निर्माण र पशु पुर्नस्थापनको कार्यक्रमहरु राखेका छौं । त्यो कार्यक्रम मार्फत अरु कार्यक्रम जान्छ गाई बाँड्ने कार्यक्रम भने छैन । बाख्रा, बंगुर लगायतका पशु वितरण हुन सक्छ गाई नै वितरण भने हुंदैन ।
० कोरली बाच्छी वितरण प्रचारमुखी कार्यक्रम भयो किसानहरुले केही पनि पाएनन् होइन ?
हामीले भूकम्प पीडित किसानहरुका लागि पुर्ननिर्माण प्राधिकरणले पनि भूकम्प प्रभावित जिल्लाका लागि भनेर रकम उलब्ध गराएको थियो । त्यो मध्येबाट हामीले हरेक जिल्लामा पाँच वटा रांगो र सय वटा बोका प्रजनन्का लागि सम्वन्धित जिल्लामा नै रकम पठाईदिएका छौं । धेरै जिल्लाहरुले त्यो काम गरिरहेका पनि छन् । भने आउने बर्षको लागि हामीले २० करोड रुपैयाँको कार्यक्रम पुर्ननिर्माण प्राधिकरणलाई दिएको छौं । त्यसमा खासगरी बाख्रा, कुखुरा, गाईभैसीको गोठ सुधारका लागि नै हो । अर्को भनेको चिस्यान केन्द्रहरुका लागि आवश्यक उपकरणहरु दिने कार्यक्रम रहेका छन् ।
० किसानका लागि तय गरिएका यो बर्षका कार्यक्रम कार्यान्वय भएन अव कार्यान्वयन हुने कस्ता कार्यक्रम बनाउनु भएको छ ?
अहिले मन्त्रालयले बढी भन्दा बढी कार्यक्रम निक्षेपित गर्ने, र केन्द्रिकृत कार्यक्रमहरुलाई पनि जिल्लामा नै गर्न सक्ने गरी अख्तियारी दिने र कार्यविधिहरुलाई पनि सरलीकृत गर्ने योजनाहरु बनाएका छौं । जसले गर्दा अनुदानका कार्यक्रमहरुलाई सरलीकृत गर्ने रहेको छ । बजेट चांडै आएकाले पनि बजेट पास हुने वित्तिकै कार्यक्रम कार्यान्वयन गर्नका लागि कार्ययोजनाहरु पनि बनाईरहेका छौं ।
० मन्त्रालयले ल्याएको ४० बुंदे प्रतिवद्धता कार्यान्वय भएन भन्छन् नि हो ?
हाम्रो कार्यक्रमको केन्द्र भनेकै ४० बुदं प्रतिवद्धतामा उल्लेखित कुराहरुलाई कार्यान्वयन गर्ने हो । पशुपन्छी विकास मन्त्रालय गठन भएपछि ६ महिना भित्र गर्ने भनिएका सवै कार्यक्रम कार्यान्वयन भएका छन् । राष्ट्रिय पशुपालन नीति तर्जुमाको ड्राफ्ट तयार भएर मन्त्रीपरिषद्मा गईसकेको छ, पशु बधशाला र मासुजाँच ऐनलाई परिमार्जन गर्ने कुरा भईसकेको छ । पशु कल्याण ऐनको ड्राफ्ट, पशु स्वास्थ्य तथा पशु सेवा ऐन परिमार्जन गर्ने कुरा थियो त्यो पनि मन्त्रालयको तर्फबाट कार्यदलले सम्पन्न गरिसकेको छ । अर्को महत्वपूर्ण कुरा के हो भने एकबर्षभित्र अण्डामा, दुईबर्षभित्र मासु र तीनबर्षभित्र दूधमा आत्मनिर्भर हासिल गर्ने भन्ने हाम्रो मुख्य कुरा हो । त्यसका लागि आयात प्रतिष्थापन गर्ने गरी आगामी आर्थिक बर्षका कार्यक्रम दूध उत्पाद, अण्डा उत्पादन र मासु उत्पादनमा नै केन्द्रित रहेको छ ।
० त्यसका लागि पनि त पूर्व तयारी गर्नु पर्ला नि ?
पक्कै पनि गरेका छौं । हामीले दूध उत्पादन, अण्डा उत्पादन र मासु उत्पादनका लागि चाहिने बस्तुहरु कृत्रिम गर्भाधानका कुरा, पशु आहारका कुरा र पशु सेवाको गुणस्तर सुधारियोस् भन्नका लागि जिल्लामा पशु रोग निधान गर्नका लागि प्रयोगशाला निर्माण एवं सुदृणकरण, क्वारेण्टाइनको सुदृण गर्ने कुराहरु, केन्द्रमा भएका प्रयोगशालाहरुलाई अन्र्तराष्ट्रिय स्तरको मान्यता प्राप्त बनाउनका लागि त्यसमा सुधार गर्ने कार्यहरुपनि छन् ।
० किसानहरुले अनुभूति गर्ने कार्यक्रम चाहि के छ त ?
किसानहरुले सेवाको अनुभूति गर्नेगरी बाख्राहरुका लागि पिपिआरको खोप पचास लाख पु¥याएका छौं । पन्ध्र लाख खोरेल र पाँच लाख रानी खेत विरुद्धको खोपको सेवा उपलब्ध गराउने गरी हामी लागेका छौं । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: सोमवार, असार २०, २०७३