मङ्लबार, बैशाख २५, २०८१

डिडिसीको  चनौली चिस्यान केन्द्रमा फिल्टरसम्मै मरेको झिंगा

चितवन । चितवनको चनौलीमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) को चिस्यान केन्द्रमा सरसफाईको अभाव भएको पाईएको छ । चनौली दुग्ध चिस्यान केन्द्रको सरसफाईमा ध्यान नदिंदा भित्रि फिल्टरसम्म मरेका झिंगा, कमिलाहरु र अन्य फोहर पुग्ने गरेको पाईएको हो ।ddc center
चनौलीमा रहेको चिस्यान केन्द्रमा पुगेको पत्रकारको एक टोली पुग्दा केन्द्रमा गाउँलेहरुले दुध ल्याएर खन्याउँदै थिए । तीन वटा फिल्टर केन्द्रमा रहेको केन्द्रका कर्मचारी विरेन्द्र यादवले बताए । पहिलो फिल्टर सामान्य कपडाको जालीले छान्ने थियो । त्यो जाली खुलमखुला भएकाले निर्वाध रुपमा झिंगा भन्किरहेका र दुधमा मरेका झिंगा, कमिला, मौरी र वारुलाहरु थिए । कसिंगरका फोहरहरु त कति हो कति ।
पहिलो जालीमा त यस्तो हुनु केही हदसम्म मान्न सकिएला तर चिस्यान केन्द्रभित्र रहेको संवेदनशिल दोस्रो फिल्टरमा रहेको दुधमा पनि उस्तै मरेका झिंगा र कसिंगरहरु पाईएको थियो । चिस्यान केन्द्रमा दुध दिन आएका एकजना दुग्ध संकलक केदार दवाडी मरेका झिंगा दुधभरी हुनु चाहिं सरसफाइमा लापरबाही नै भएको बताए । उनले पातपतिंगर र हावाले उडाएर ल्याएका कसिंगरहरु समेत आफुले देखेको भन्दै सरसफाइृमा सुधार गर्न आग्रह गर्दै थिए । आफ्नो आँखाले पनि मरेको झिंगा देखेको भन्दै उनले चिस्यान केन्द्रले सरसफाईमा ध्यान नदिएको बताए । केन्द्रमा दूध भर्दै गरेका कर्मचारी विरेन्द्र यादवले भित्र तेस्रो फिल्टर भएकाले त्यो फोहरहरु भित्र भने नजाने दावी गर्दै केन्द्रको बचाउ गरे । चितवन जिल्लामा सबैभन्दा बढी दुध संकलन गर्ने केन्द्र चनौली चिस्यान केन्द्र पर्छ । दैनिक ७ हजार लिटर दुध यहाँबाट केन्द्रमा जान्छ । ६ हजार लिटर दूधमा १ हजार लिटर पानी मिसाउने गरेका समाचार कृषिमा केही समय अगाडि प्रकाशित भएको थियो । चितवनमा डिडिसीका चनौली जस्तै ६ वटा केन्द्र रहेका छन् । यहां संकलन गरिएका दूध काठमाडौं लैजाने गरिन्छ । सरसफाईमा देखिएको लापबाही सम्वन्धमा चिस्यान केन्द्रका प्रमुख रामचन्द्र विष्टले गल्ती स्वीकार गर्दै सुधार गर्ने बताएका छन् । मानिसको लागि नभै नहुने र अतिसंवेदनशिल खानेकुरा दूधको सरसफाईमा लापरबाही भएको भन्दै केही किसानले सरसफाई गर्न माग गरेका छन् । चिस्यान केन्द्र वरिपरि समेत दुर्गन्धित भएको स्वीकार गर्दै सबै क्षेत्रमा सरसफाई गर्ने विष्टले प्रतिवद्धता जनाएका छन् । – बिल अधिकारी 

प्रकाशित मिति: आइतवार, असार ५, २०७३