शुक्रबार, जेष्ठ ४, २०८१

एक सेवा केन्द्र र उपकेन्द्र बराबर एक पशु चिकित्सक लागू गर्नु पर्दछ

dr sital
डा.शितलकाजी श्रेष्ठ
अध्यक्ष
भेटेरीनरी एशोसिएसन नेपाल

० भेटेरीनरी एसोसिएसनको अध्यक्षमा निर्वाचित हुनु भएको छ, पशु चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्नका लागि के योजना बनाउनु भएको छ ?
नेपालको पशु चिकित्सा क्षेत्रलाई व्यवस्थित मात्र होइन थप आकर्षित गर्नका लागि हामीले जनशक्ति नै बढाउनु पर्ने देखिन्छ । अहिले सरकारी निकायमा दुई सयका हाराहारीमा पशु चिकित्सकहरु कार्यरत छन् । अधिकांश पशु चिकित्सक बाहिर नै बसेर काम गरिरहेका छन् भने सोही अनुपातमा विदेशमा पनि पशु चिकित्सकहरु कार्यरत देखिन्छन् । पहिलो कुरा के हो भने दुईसय पशु चिकित्सकहरुले नेपालभरका पशु स्वास्थ्यलाई व्यवस्थित गर्न सक्दैन । विशुद्ध पशु चिकित्सा सेवा दिनका लागि हाल कार्यरत पशु चिकित्सकहरुको दरवन्दी थप गरी जनशक्ति बढाउनु जरुरी छ । त्यसकारण पहिलो कार्य भनेको सरकारी निकायमा पशु चिकित्सकहरुको दरवन्दी बढाउनका लागि राज्यलाई ध्यानकर्षण गराउने छौं । योसंगै बन मन्त्रालयका पनि पशु चिकित्सकहरुको दरवन्दीका लागि हामी पहल गर्ने छौं । किनभने विगतमा पञ्चायतकालमा समेत राष्ट्रिय निकुञ्जहरुमा समेत बन्यजन्तुलाई हेर्नका लागि पशु चिकित्सकहरुको व्यवस्था गरिएको थियो । अहिले त्यो कटौती गरिएको छ । त्यसलाई फेरि दरवन्दी राखिनु पर्दछ भन्ने हामी पहल गर्दछौं ।
० अहिले पशुपन्छी विकास मन्त्रालय छुट्टै बनिसकेको र बजेट समेत आईसकेको अवस्थामा दरवन्दी थप्ने र बन मन्त्रालयले नयां दरवन्दी सिर्जना गर्न सम्भव छ ?
आज हामीले माग गर्ने र भोली नै हुनुपर्दछ भन्ने होइन । तर नीतिगत रुपमा दरवन्दी राख्ने कुरा अनिवार्य हुनु पर्दछ । यो बर्ष नै हुनु पर्दछ भन्ने छैन भावी दिनमा भएपनि हुनु पर्दछ भन्ने ग्यारेण्टी त सरकारले गर्न सक्छ नि ? यत्रो बर्षसम्म त भएन भने केही समय कुर्न गाह्रो छैन । सशस्त्र प्रहरीभित्र समेत घोडा कुकुरहरु छन् त्यसको उपचारका लागि बाहिरबाट पशु चिकित्सक लिएर जाने गरिएको छ । त्यहाँ पनि पशु चिकित्सक कै दरवन्दी राख्नु पर्दछ भन्ने कुरा हामीले लिएर जाने छौं ।
० दरवन्दी थप्ने कुरा एकातिर छ भने अर्कोतिर जनशक्तिको अभाव छ भन्छन् नि ?
हरेक बर्ष १ सय ७५ को हाराहारीमा पशु चिकित्सक नेपालमा नै उत्पादन भईरहेका छन् । यसले के देखाउंछ भने राज्यलाई आवश्यक परेको खण्डमा पशु चिकित्सकहरुको अभाव हुँदैन । पशु चिकित्सकहरुको पनि रोजगारीको ग्यारेण्टी नभएकै कारण विदेश वा निजी क्षेत्रमा आकर्षित हुनु स्वाभाविक नै हो ।
० पशु चिकित्सकहरु किसानका पक्षमा भन्दा पनि व्यवसायिक रुपमा औषधी उद्योगहरु प्रति बफादार छन् भन्छन् नि ?
त्यसो होइन । पशु चिकित्सा क्षेत्रमा काम गर्ने अन्यका कुरा गर्ने हो भने त्यो होला । पशु चिकित्सा क्षेत्रमा हामीले बढी काम गरिरहेका छौं भन्नेहरुले नै त्यसो गरेका होलान् । राज्यले नै पशु चिकित्सकहरु गाउं पुग्न सकिरहेको छैन भन्ने आरोप लगाईरहेका बेला पशु चिकित्सकहरु औषधी उत्पादकहरुप्रति बफादार भए भन्नु गलत हो । यो कुरा पशु चिकित्सकहरुले होइन पशु चिकित्साका नाममा अरुले नै गरेका होलान् ।
० पशु चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्ने परिषद् नै संधै विवादमा आउने गर्दछ । यस्तो अवस्थामा पशु चिकित्सा क्षेत्रलाई मर्यादित बनाउन सकिन्छ ।
पशु चिकित्सा परिषद् भनेको पशु चिकित्सकहरु स्वामित्व भएको चिकित्सा परिषद् हो । यसमा अरु कसैको प्रवेश हामीलाई मान्य हुँदैन । यति भनिरहंदा पशु चिकित्सा परिषद्ले नियमनकारी भूमिका निभाईरहँदा अन्य पशु चिकित्सा क्षेत्रमा काम गर्नेलाई पनि नियमन गर्न सक्दछ । तर त्यसको बहानामा पशु चिकित्साको जिम्मेवार पदहरुमा आउनै पर्दछ । आउन पाउनु पर्दछ भन्ने कुरा कसैको दवावमा हुने वा ऐन संशोधन गर्ने कुरा हाम्रो संस्थालाई मान्य हुने छैन ।
०तर पशु चिकित्सा परिषद्को ऐनले त पाराभेटहरुलाई पनि परिषद्भित्र समाबेश गर्ने भन्ने कुरा त उल्लेख नै गरेको छ नि ?
यो ऐन अहिले संसदमा पुगेको छ र विचारधिन अवस्थामा छ । यो अत्यन्तै एकलौटी ढंगले अगाडि बढाइएको ऐन हो । त्यसका विरुद्ध हामीले एकहप्ता भन्दा बढी आन्दोलन गरेर राज्यको ध्यान केन्द्रित पनि गरेका हौं । यसका संसद तथा सरोकारवाल व्यक्तिहरुले पनि मनन् गर्नु भएकोले यो ऐन संसदबाट स्वीकृत नभई फिर्ता हुन्छ भन्नेमा हामी ढुक्क छौं ।
०पशु चिकित्सा परिषद् पनि आफ्नो भूमिका निर्वाह गर्न सकेको छैन रे नि त ?
यसमा त राज्यको नै दायित्व हुन्छ । त्यहां राज्यले आफूलाई उचित हुने योग्य र निश्चित मापदण्ड पुगेकै पशु चिकित्सकहरुलाई पठाउनु हुन्छ । त्यसमा हामीले अन्यथा लिएका छैनौं । त्यहां अग्रज पशु चिकित्सक नै पुग्ने भएकाले भूमिका नै निर्वाह गर्न नसकेको हो भन्नु उचित हुदैन होला ।
० पशु चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्न राज्यले के गर्नु पर्दछ भन्ने लाग्दछ ?
यदि राज्यले पशु स्वास्थ्यका लागि ध्यान दिने हो र पशु चिकित्सा क्षेत्रलाई पनि व्यवस्थित गर्ने हो भने उचित दरवन्दी सिर्जना गरी एक सेवा केन्द्र र उपकेन्द्र बराबर एक पशु चिकित्सक लागू गर्नु पर्दछ । पशु चिकित्सकहरुलाई अवसर नै नदिई काम नै गर्दैनन् भन्ने कुरा गर्नु गलत हो ।

                                                                                                                                      -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: सोमवार, जेष्ठ २४, २०७३