शुक्रबार, जेष्ठ ४, २०८१

कृषि प्रविधि वा सूचना जतिबेला पनि प्रशारण गर्ने कुरा होइन

min

मिनप्रसाद बुढाथोकी
प्रमुख – कृषि सूचना तथा सञ्चार केन्द्र

० किसानहरुलाई सूचनाको पहुँच बृद्धि गर्न कृषि सूचना तथा सञ्चार केन्द्र स्थापना भयो तर सूचनाको पहुँच किसानसम्म पुगेन भन्ने गुनासो छ नि ?
किसानसम्म कृषि सूचनाको पहुँच नै पुगेन भन्न मिल्दैन । पुगेको छ तर जसरी पुग्नु पर्ने हो त्यसरी पुगेन भन्न सकिन्छ । खासगरी कृषि सूचना केन्द्रको आफ्नो नाम, काम र यसको अधिकारको हिसावले कुरा गर्ने हो भने जति पनि कृषिका नयाँ प्रविधि तथा किसानसँग प्रत्यक्ष सरोकार राख्ने सूचनाहरु केन्द्रबाट नगईकन छरिएर गएका छन् । कृषि विभाग मातहतका कार्यालयहरुले आ आफ्नै ढङ्गले सूचना प्रवाह गरेका कारण यस्तो भएको हो । कृषि सूचनाको प्रवाह एकद्धारबाट हुनु पर्ने थियो ।
० त्यसो भए कृषि मन्त्रालय मातहतका कार्यालय वीच पनि सूचना प्रवाहका लागि समन्वय हुन सकेन त्यसकारण सूचना केन्द्र ओझेलमा प¥यो ?
वास्तवमा भन्ने हो भने यो सत्य हो । कृषि विकास मन्त्रालय, विभाग तथा कार्यालयहरुले यो कार्य जिम्मेवारीको हिसावले सूचना केन्द्रले गर्नु पर्ने भएको भएपनि पछिल्ला चरणमा त्यो हुन सकिरहेको छैन । कृषि सूचना प्रवाहमा दोहोरपन भईरहेको छ । विभाग, निर्देशनालयहरु, क्षेत्रीय कार्यालयहरु सवैले आ आफ्नै ढंगले प्रचार प्रसारका काम गरिरहेका छन् । रेडियो नेपाल र नेपाल टेलिभिजनका कार्यक्रम प्रशारण गर्ने बाहेक अरु केही पनि सूचना केन्द्रले गरेको छैन । कृषि सूचनाहरु सवै एकद्धार प्रणालीमा केन्द्रको माध्यमबाट जानु पर्दछ । किसानसम्म पुग्ने त्यस्ता सूचनाहरु प्रमाणित गरेर मात्र प्रवाह गर्दा गलत सूचना प्रवाह हुनबाट रोकिन्छ । खर्चका हिसावले पनि सरकारी बजेट मितव्ययी हुने थियो ।
० पछिल्ला समयमा कृषिलाई मात्र प्राथमिकता दिएर कृषि सञ्चार माध्यमहरु पनि आउन थालेका छन्, त्यस्ता विषयगत सञ्चार माध्यमहरुसँग कसरी समन्वय गरिरहनु भएको छ त ?
विगतमा दिनहरुमा निजी क्षेत्रबाट कृषि सञ्चार प्रवाह गर्ने सञ्चार माध्यमहरुसँग समन्वय गरेको रहेनछ । अव हामीले केही परिवर्तन गरेर जाने सोच बनाएका छौं । खास गरी कृषि क्षेत्रलाई मात्र समेटेर काम गरिरहेका सञ्चार माध्यमहरुसँग आगामी आर्थिक बर्षबाट समन्वय गरेर अगाडि बढ्ने तयारी गरिरहेका छौं । जसले गर्दा अहिले भईरहेको भन्दा फरक हुनेछ । तर कतिसम्म र कुन दायरामा रहेर काम गर्न सक्छौं भन्ने कुरा काम गरेपछि मात्र भन्न सकिन्छ ।
० कृषिका सूचना यही केन्द्रका माध्यमबाट जानु पर्ने थियो तर कृषि सूचना केन्द्र नै सूचनाको पहुँच भन्दा बाहिर छ भन्ने आरोप लाग्दै आईरहेको छ नि?
जुन बेला यो कार्यालयको स्थापना भयो । त्यसबेला अत्यन्तै सक्रिय र प्रभावकारी थियो । कृषि सूचना दिने आधिकारीक निकाय नभएर काम गरेको थियो । तर पछिल्लो चरणमा आएर विगत केही बर्षदेखि कृषि विकास मन्त्रालय मातहतका कार्यालयहरुले आ आफ्नै किसिमले प्रचार सामग्री तयार गर्ने आफ्नै किसिमले प्रशारण गर्ने गरेरका कारण कृषि सूचना केन्द्रको कार्य क्षेत्र साँधुरिएको हो कि भन्ने मलाई लाग्दछ । कि आ आफ्नै किमिसले चलाउने भन्ने सर्कुलर हुनु प¥यो । कि सूचना केन्द्र कै माध्यमबाट जानु प¥यो । स विषयमा मन्त्रालयमा पनि कुरा भईरहेको छ । कृषि सूचना तथा सञ्चार केन्द्रलाई अझ सशक्त बनाउने अभियानमा हामी लागेका छौं । अर्को महत्वपूर्ण कुरा के हो भने कृषिका प्रविधि वा सूचना जसले जतिबेला पनि जे पनि प्रशारण गर्ने कुरा होइन । त्यसमा विशेषज्ञ बैज्ञानिकहरुलाई राखेर कुन ठिक हो कुन बेठिक हो भन्ने कुरा हुनु पर्दछ । अहिलेसम्म त्यस्तो कुनै घटना भएको छैन तर भोली कसैले प्रशारण गरेको प्रविधि वा सूचनाले कुनै नराम्रो परिणाम आयो भने ठूलो दूर्घटना निम्तिन पनि सक्छ ।
० त्यसो भए अव कृषिको प्रवक्ताका रुपमा कृषि सूचना तथा सञ्चार केन्द्र हुनु पर्दछ । कृषि सूचना प्रवाह हुँदा केन्द्रबाट मात्र जानु प¥यो भन्न खोज्नु भएको हो ?
वास्तवमा हुनु पर्ने नै त्यही हो । किनकी कृषि विकास मन्त्रालयको सूचना प्रवाहको मूल कार्यालय नै यही हो । संस्थागत हिसावले गर्नु पर्ने पनि त्यही हो तर अहिले मन्त्रालयले योजना महाशाखाका प्रमुखलाई प्रवक्ताका रुपमा जिम्मेवारी दिएको छ । त्यसमा केही गुनासो छैन । तर, जति पनि कृषि सूचना तथा प्रविधिका कुराहरु यस केन्द्रबाट जाँदा भरपर्दो र विश्वसनीय र उपयोगी हुने किसिमले प्रविधि र सूचना किसानसम्म पुग्न सक्छ । जति पनि प्रशारण माध्यमहरुमा प्रशारण हुने कुरा छ ती सवै प्रमाणित गरेर मात्र जानु सक्नु पर्दछ । अहिले त्यस्तो छैन आफ्नै किसिमले प्रशारण भईरहेका छन् । त्यही भएर पनि यो संस्थाको कार्यक्षेत्र पछिल्लो समयमा आएर केही पातलो भएको हो ।
० त्यसो भए एकद्धार कृषि सञ्चारका लागि समस्या कहाँ छ त ?
कृषि विकास मन्त्रालयले अलिकति नेतृत्व लिएर छरिएर गएका सूचनाहरुलाई एकत्रित गर्नु पर्दछ । कार्य क्षेत्रको निर्धारण गरेर कृषि विभाग तथा मातहतका सम्पूर्ण कार्यालयहरुलाई कृषि सूचना एकद्धार प्रणालीबाट जाने गरी जानकारी गराउने हो भने गाह्रो छैन । किन भने यी सवै कार्यालयहरु एउटै निकायका हुन् ।
० तपाईले भने जस्तो कृषि सूचना प्रवाह एकद्धार प्रणालीमा जाने सम्भावना छ ?
विगतमा थियो भने अहिले नहुने भन्ने कुरा नै छैन । महत्वपूर्ण कुरा के हो भने सवैभन्दा पहिले यो संस्थालाई अलिकति शसक्त बनाउनु पर्दछ । जिम्मेवारी खोजेर मात्र पनि हुँदैन । त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन, हामीसंग भएका श्रव्यदृश्य उत्पादन उपकरणहरुको अवस्था, मुलुकभर पुगेर श्रव्यदृश्य संकलन गर्नका लागि आवश्यक पूर्वाधारहरुको अहिले समस्या छ । त्यो समस्या समाधान गर्नका लागि पनि एकद्धार प्रणाली नै उपयुक्त हुन्छ ।
० तर मन्त्रालयका पदाधिकारीहरु जनशक्ति आवश्यक, पूर्वाधार र बजेट हुँदा पनि काम गर्न सकेन भन्छन् नि त ?
विगतलाई हेरेर अहिले पनि त्यस्तै छ भन्नु गलत हो । पुराना उपकरणहरु कतिपय विग्रेका छन् । कति काम नलाग्ने भएका छन् । त्यतिबेलाका उपकरण अत्यन्तै स्तरीय थिए । अहिले त्यही काम नलाग्ने भएको अवस्था छ । अहिले चलिरहेका प्रविधिहरुसंग हामीले हिड्न सकेनौ भने गुणस्तरीयतामा प्रश्न उठ्छ । पुराना सामग्री वोकेर सँधै स्तरीय छ भन्नु उचित होइन । कृषि सूचना तथा सञ्चार केन्द्रलाई व्यवस्थित र शसक्त बनाउन हामी लागिरहेको छौं । तर श्रोत साधनहरु हामीसँग अभाव छ ।

० आम किसानहरुलाई सूचनाको पहुँचका विषयमा के भन्नु हुन्छ त ?
हाम्रा आम किसान दाजुभाई तथा दिदीबहिनीहरु जो कृषि व्यवसाय गरिरहनु भएको छ । उहँहरुलाई हामीले रेडियो र टेलिभिजनका माध्यमबाट कृषि सूचना प्रवाह गरिरहेका छौं । यसको गुणस्तर बढाउनका लागि प्रयासरत पनि छौं । किसानहरुलाई कृषि सूचनाको पहुँच बृद्धि गर्नका लागि हामी प्रतिवद्ध भएर लागिरहेका छौं । वैकुण्ठ भण्डारी

प्रकाशित मिति: सोमवार, बैशाख २७, २०७३