शुक्रबार, जेष्ठ ४, २०८१

उपत्यकाबाट पशु बधशाला नै हटाउने तयारी गदैछौं

harikumar shrestha

हरिकुमार श्रेष्ठ
प्रमुख
शहरी स्वास्थ्य महाशाखा, कामपा

० काठमाडौं महानगरपालिकाले शहरभित्रका बधशालाहरुलाई व्यवस्थित गर्नका लागि के गरिरहेको छ ?
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र जति पनि बधशालाहरु छन् । त्यसलाई व्यवस्थित गर्नका लागि विगतदेखि नै प्रतिवद्ध भएर लागिरहेको छ र कतिपय बधशालाहरु व्यवस्थित पनि भईरहेका छन् । भने ठूला पशुहरु रांगा भैसीहरु यहां बध गरिन्छ । त्यो अलि अवैज्ञानिक, अव्यवहारिक र अव्यवस्थित छ । त्यसलाई पनि व्यवस्थित तरीकाले बध गर्नका लागि ठूला पशुहरु काठमाडौं उपत्यका भन्दा बाहिर नै बध गर्नु पर्दछ भन्ने कुराहरु प्नि पशुपन्छी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका वीच छलफल भईरहेको छ । सवैभन्दा महत्वपूर्ण कुरा के हो भने मासु जांच ऐनलाई कार्यान्वयन गर्ने र काठमाडौंबाट ठूला पशु बधशालाहरुलाई उपत्यकाबाट हटाउने तयारीमा हामी लागिरहेका छौं ।
० अहिले भईरहेका बधशालालाई के गर्नु हुन्छ त ?
अहिले जुन जुन ठाउं पशु बधशालाहरु छन् । त्यस ठाउंमा हामीले कोल्ड स्टोर व्यवथापन गर्ने । र बाहिर बध गरेर ल्याएका मासुहरुलाई त्यही भण्डारण गरेर विक्री वितरणको व्यवस्था गर्ने भन्ने कार्यका हामी लागिरहेका छौं यसका लागि हामीले सरोकारवाला निकायहरुसंग बृहत रुपमा छलफल गरिरहेका छौं ।
० मासु उपभोग गर्ने उपभोक्ताहरुहरु स्वच्छ र स्वस्थ मासु उपभोग त गर्न पाएका छैनन् नि ?
यसका लागि हामीले मासु उत्पादक, विक्रेतादेखि उपभोक्ताहरुसम्मलाई तपाईहरु जस्तै विभिन्न सञ्चार माध्यमहरु मार्फत जानकारी दिन काम गरिरहेका छौं । अहिले उपत्यका भित्र बध गरिएका जति पनि मासुहरु छन् ती स्वच्छ र स्वस्थ हुनु पर्दछ भनेर बेला बेलामा सरोकारवालाहरुसंग छलफल पनि चलाईरहेका छौं । अर्को कुरा के हो भने यस विषयमा उपभोक्ताहरु पनि सचेत हुनु आवश्यक छ । उपभोक्ताहरुले आफूले रकम तिरेर उपभोग गर्न खोजेको मासुजन्य पदार्थ खान योग्य छ कि छैन्, कस्तो ठाउंमा बध गरिरहेको छ वा कस्तो ठाउंमा विक्री गरिरहेको छ भन्ने कुरा ख्याल गर्नु आवश्यक छ । हामीले पनि नियमित रुपमा अनुगमन गरिरहेका छौं । अनुगमनका क्रममा अयोग्य मासु विक्रेताहरुले विक्रीका लागि राखेको मासु जफत गरी कार्वाही पनि गरेका छौं ।
० काठमाडौ उपत्यकाबाट बध शाला हटाउनु पर्ने कारण चाहिं के हो त ?
काठमाडौंमा मासु प्रयोजनका लागि ल्याईने रांगाहरु एउटै कम्तिमा तीन टन हुने रहेछ । काठमाडौं ल्याएर बध गर्ने रांगाबाट प्राप्त हुने मासु भनेको एक टन मात्र रहेछ । यसको मतलव दुई टन खेर जाने बस्तु एउटा रांगाबाट हामीले उपत्यकामा भित्र्याईरहेका छौं । ती खेर जाने फोहोर विष्णुमति वा बागमतीमा फालिरहेको हामीले पाएका छौं । यसले एकातिर दुर्गन्धित बनाईरहेको छ भने रोग संक्रमण गर्ने काम पनि गरिरहेको छ । हामीले ठूला पशुबधशाला काठमाडौंबाट हटाएर उपत्यका बाहिर नै बधशाला स्थापना गरेर मासु मात्र भित्र्याउने हो भने एकातिर फोहोर व्यवस्थापन हुन्छ । त्यही फोहोरलाई पुर्न प्रयोग गरी मल उत्पादन गर्न समेत सम्भव हुन्छ भन्ने हाम्रो अवधारण पनि हो ।
० फोहोर व्यवस्थापन गर्न उपायका लागि मात्र बधशाला हटाउने योजना त होइन ?
फोहोर व्यवस्थापन त एउटा पाटो मात्र रह्यो । खासगरी उपभोक्ताहरुले उपभोग गर्ने मासुजन्य पदार्थ स्वस्थ र स्वच्छ खान पाउनु पर्दछ भन्ने नै हो । बाहिरबाट बध गरेर ल्याईएका मासुहरु कोल्ड स्टोरमा ल्याउंदा गुणस्तरहीन पक्कै आउंदैनन् । स्वस्थ मासु नै प्याकेजिङ्ग गरेर आउने भएकाले आम उपभोक्ताहरुले स्वस्थ मासु उपभोग गर्न पाउंछन् भन्ने हो । त्यही विदेश समेत निर्यात गर्न सक्ने अवस्थाको सृजना गर्नु पनि हो । यसले व्यवपारीलाई पनि फाइदा, उपभोक्तालाई पनि फाइदा अनि राज्यका लागि पनि राम्रो हुने भएकाले हामीले यो कदम अगाडि सारेका हौं ।
०यहांहरुले खुल्ला रुपमा पशुबध गर्नका लागि निषेध गरेको भएपनि अझै कार्यान्वय हुन सकिरहेको छैन नि किन ?
यसका लागि मानिसको सोच र व्यवहारमा नै परिवर्तन गर्नु जरुरी हुन्छ । बधस्थल भनेको त जुन पशुलाई वध गरिंदै छ त्यसले पनि म मर्दैछु भन्ने कुरा थाहा पाउनु हुंदैन । त्यस्तो किसिमले बध गरिएको मासु बल्ल स्वस्थ हुन्छ । त्यसकारण हामीले साना पशुहरुको बध स्थलहरुलाई पनि व्यवस्थित गर्नका लागि विगतदेखि लागिरहेको भएपनि केही ठाउंबाहेक धेरै ठाउंमा पशुवध खुल्ला स्थानमा गरिनु हुंदैन भन्ने कुराको कार्यान्वय भईसकेको छ । अव जति बांकी रहेका छन् खुल्ला बधशालाहरु त्यो पनि छिट्टै बन्द हुन्छ ।
० खुल्ला रुपमा पशु बध रोक्छौं भनेर हामीले जे बोलिरहेको छौ त्यो कार्यान्वयन पक्ष सजिलो त छैन केही व्यवसायीहरु संगठित रुपमा नै लागिरहेका छन् भन्छन् नि ?
विशेष गरी काठमाडौं उपत्यकामा खुल्ला रुपमा पशु बध परम्परागत रुपमा नै गरिंदै आएको छ । जति पनि त्यस्ता व्यवसायीहरु हुनुहुन्छ संगठित रुपमा नै लागेको भएपनि त्यो उहांहरुकै लागि हो । स्वस्थ मासु विक्री गर्दा उहांहरुले नै बढी फाइदा लिने हो । उहांहरुलाई विस्थापित गर्ने हाम्रो उदेश्य होइन । उहांहरुको व्यवसायिक फाइदाका लागि हो । शुरुमै भनिसके अहिले बधशाला भएका ठाउंलाई कोल्डस्टोरमा रुपान्तरण गरी बाहिर बध गरेर ल्याएका मासुहरुलाई त्यहीबाट थोक वा खुद्रा विक्रीको व्यवस्था मिलाउन हामी लागिरहेको छौं । जसबाट व्यवसायीहरुले नै उचित मुनाफा लिन सक्नु हुने छ ।
० त्यसो भए अव काठमाडौं उपत्यकामा बधशालाहरु हुंदैनन् ?
हो ठूला पशु बधस्थल अव काठमाडौंबाट पूर्ण रुपमा हट्ने छ । साना पशु वधशालाहरुलाई पनि व्यवस्थित गर्ने, बैज्ञानिक र आधुनिककरण गरेर स्वस्थ मासु उत्पादन गरी विक्री वितरण गर्नु पर्दछ । साना पशु वधस्थलहरुलाई व्यवस्थापन गर्न सकिन्छ । रांगा भैसीका बधस्थल काठमाडौमा व्यवस्थापन गर्न नसकिने भएकाले त्यो पूर्ण रुपमा नै विस्थापित गर्ने हाम्रो नीति अगाडि बढिसकेको छ ।
० कति समयभित्र साना पशुबस्तुहरुको बधस्थललाई व्यवस्थापन गर्ने लक्ष्य लिइएको छ त ?
साना पशुबस्तु तथा चौपायाहरुका लागि केही निश्चित क्षेत्र तोकेर बधस्थलको व्यवस्था गर्ने छौं । यति नै समय भन्दा पनि क्रमिक रुपमा बधस्थललाई सुधार गर्दै बैज्ञानिकीकरण र आधुनिकीकरण गर्दै लैजान हामी तत्पर छौं । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: सोमवार, बैशाख २०, २०७३