शुक्रबार, जेष्ठ ४, २०८१

बिषादी प्रयोग न्यूनिकरण गर्न ग्रामिण तहबाट जागरुक

bed prasad
वेदप्रसाद चौलागाँई
प्रमुख
बिषादी पञ्जिकरण तथा व्यवस्थापन शाखा

० नेपालमा रासायनिक विषादी आयातको अवस्था के छ ?
विगतका बर्षहरु भन्दा अहिले विषादी आयातको मात्रा घट्न थालेको छ । विगतमा रासायनिक विषादी प्रयोगगर्ने किसानहरुमा चेतना अभिबृद्धि भईरहेको छ । हामीले पनि जिल्ला कृषि विकास कार्यालयहरु माफर्त विषादी विष हो औषधी होइन भन्ने कुराको व्यापक चेतना अभिबृद्धि गरेका कारण किसानहरुले पनि विषादीलाई औषधी भन्न छाडिसक्नु भएको छ । मैले त के भन्दै आईरहेको छु भने यो विषादी मानिसलाई चाहिने पनि हो र खतरा पनि छ । रोग कीरा नियन्त्रण गर्न सकेनौ भने बाली नालीको नोक्सानी ३० देखि ३५ प्रतिशतसम्म हुन सक्छ । हाम्रो जस्तो खाद्य असुरक्षित देशमा विषादी जरुरी चीज पनि भयो र त्यसले मानव स्वास्थ्य, पशुपन्छी तथा वातावरणमा नै नकारात्मक असर पार्ने भएकाले विषादीलाई सहि समय, सहि बालीमा प्रयोग गर्नु पर्दछ, यसको दुरुपयोग हुनु हुंदैन ।
० विषादी घातक हो भन्दा भन्दै किन प्रयोग भईरहेको छ त ?
विशेष गरी हामीलाई विषादीको बढी खतरा कहां छ भने विषादी छरिसकेपछि कतिदिनसम्म टिप्नु हुदैन । कुन बालीमा कुन विषादी हाल्ने भन्ने कुराको ज्ञानको अभावले विषादीको दुरुपयोग भएको छ । त्यसकारण हामीले विषादीका विषयमा विषादी प्रयोग गरिसकेपछि बाली टिप्ने अवधि, विषादीका असरहरुका बारेमा जिल्ला जिल्लामा गएर सचेतना गर्ने काम गरिरहेका छौं । त्यसका अलावा किसानहरुको सवैभन्दा सहज पहुंच हुने विषादी विक्रेताहरुलाई पनि यस सम्वन्धि तालिम प्रदान गरिरहेका छौं ।
० त्यत्तिले मात्र पुग्ला त विषादी प्रयोग न्यूनिरकणका लागि काम ?
पुग्दैन त्यही भएर पनि हामी विषादी विक्रेताहरुका पटक पटक अनुगमन गर्ने कार्यका लागि पुगिरहेका हुन्छौं । विषादी विक्रेताकाहरुले भौतिक पूर्वाधार खडा गरेका छन् कि छैनन् भन्ने कुरा पनि हामीले अनुगमन गरिरहेका हुन्छौ । जस्तै विषादी पोखियो भने त्यसलाई सुरक्षित गर्नका लागि आवश्यक व्यवस्था गरिएको छ कि छैन भन्ने कुरा प्रमुख रुपमा नियमन गर्ने कार्य गरिनु भनेको विषादी आयातमा समेत न्यूनिकरण गर्न खोजिएको छ भन्ने कुरा बुझ्नु आवश्यक छ ।
० त्यसो भए रासायनिक विषादी आयातमा पनि कमी आईरहेको छ ?
हो । अर्को कुरा के हो भने हामीले पनि जैविक विषादी प्रयोगलाई जोड दिईरहेका छौं । जैविक विषादीले रोग कीरा नियन्त्रण हुनुका साथै स्वास्थ्यलाई पनि हानी नगर्ने हुनाले किसान, विषादी विक्रेताहरुलाई समेत जैविक विषादी प्रयोग बढावाका लागि नै प्रशिक्षण समेत सञ्चालन गरेका पनि छौं । यसका साथै बाली संरक्षण निर्देशनालयले पनि बेला बेला अनुगमन तथा निरिक्षण गरिरहेकै छ । जैविक विषादी बेचेर पनि रासायनिक विषादी बराबरकै फाइदा हुन्छ भने जैविक विषादी विक्री किन नगर्ने ? भन्ने जस्ता चेतना अभिबृधि पनि हामीले गर्दै आईरहेका छौं । त्यसैको फलस्वरुप होला अहिले रासायनिक विषादी आयात गर्ने भन्दा जैविक विषादी आयात गर्नेहरुको संख्या बढेको देखिन्छ ।
० तर किसानहरु त रोगकीरा मार्नका लागि कडा विषादी प्रयोग गर्दछन् , एग्रोभेटहरुले पनि त्यही अनुसार सल्लाह दिन्छन् भन्ने कुरा छ नि होइन ?
कतिपय एग्रोभेटहरुको गुनासो पनि यही नै छ । किसानहरु विषादी किन्न आउंदै अहिले विषादी हाल्न नपाउंदै तुरुन्तै मर्ने खालको विषादी रोज्ने गर्दछन् । तर जैविक विषादीले पनि रोग कीरालाई ठिक गर्ने र अहिलेको अहिल्यै भन्दा पनि एक दुईदिनमा नै त्यस्ता रोग कीराको अन्त्य हुने भन्दै किसान र विक्रेताहरुलाई पनि यो विषयमा सचेत गराउंदै आईरहेका छौं ।
० त्यसो भए अव किसानहरुले रासायनिक विषादी प्रयोगलाई कमी गर्दछन् ? तपाईहरु त्यसकै लागि लाग्नु भएको छ ?
रासायनिक विषादीको प्रयोगलाई कमी गराउनका लागि तपाई हामी सवै लाग्नु पर्दछ । अझ यसमा सञ्चार माध्यमहरुको भूमिका अहम् देखिन्छ । हामी सवै क्षेत्र र तहका व्यक्तिहरु मिलेर रासायनिक विषादी प्रयोगलाई कमी गराउनु नै पर्दछ ।
० व्यापारीहरुले त बढी फाइदा हुने चीजलाई खोजिरहेका देखिन्छन् । यो अवस्थामा रासायनिक विषादी न्यूनिरण कसरी गर्ने त ?
पहिले जस्तो छैन । अहिले व्यापारीहरुले पनि आफ्नो स्वास्थ्यलाई ख्याल गनु पर्दछ भन्ने सोचमा आएका छन् । उहा“हरुले पनि अहिले आफ्नो व्यवसायलाई लाजमर्दो खालको व्यवसाय हुन लाग्यो भन्ने चिन्ता व्यक्त गरिरहनु भएको छ । सर्वसाधारणको भावना कसरी सकारात्मक बनाउने भन्ने कुरामा व्यवसायीहरु पनि चिन्तित भएको मैले अनुभव गरेको छु । सकेसम्म घातक विषादी बेच्नै नपरोस् भन्ने कुराको चाहना उहाहरुमा पनि रहेको छ । किसानको पक्षमा, उपभोक्ताहरुको पक्षमा अहिले व्यवसायीहुनु हुन्छ ।
० जैविक बिषादीको पनि चर्चा छ तर व्यापारीले रासायनिक बिषादीको सट्टा जैविक विषादी विक्री गर्न कत्तिको उत्साह देखाएका छन् त ?
उत्साह देखिएको छ । विगतमा हेर्ने हो भने एग्रोभेटहरुमा जैविक विषादी पाईदैनथ्यो । तर अहिले जैविक विषादी पनि विक्रीका लागि राख्न थाल्नु भएको छ । सकेसम्म पहिलो प्राथमिकता जैविक विषादीलाई दिन थाल्नु भएको छ । किसानहरुले पनि जैविक बिषादीले पनि रोग कीराका न्यूनिकरण गर्नका लागि फाइदा भएको बताउन थाल्नुभएको छ । जुम्ला जिल्लालाई हेर्ने हो भने अर्गानिक जिल्ला घोषण गरिएको छ । जैविक बिषादी मात्र हालेपछि त्यसले नै काम गर्दछ भने किन रासायनिक बिषादी प्रयोग गर्ने भन्ने चेतना किसानमा जाग्न थालेको छ ।
० यसका अन्य विकल्प पनि होलान् नि त छैन ?
छन् किन नहुनु । रासायनिक बिषादी प्रयोगलाई न्यूनिकरण गर्दै लगेर अन्त्य नै गर्नका लागि विभिन्न जिल्लामा आईपिएम पाठशाला सरकारले सञ्चालन गरिरहेको छ । एग्रोभेटहरु पनि यसका लागि तालिम लिन इच्छुक हुनु भएको छ । किसानहरु त अहिले आईपिएमप्रविधिबाट नै कृषि उपज उत्पादन गर्न थालिसक्नु भएको । आईपिएम प्रविधि अवलम्वन गर्न सक्यौ भने रासायनिक विषादी प्रयोग केही बर्षभित्रै अन्त्य हुन्छ भन्नेमा म ढुक्क छु ।
० यसको मतलव रासायनिक बिषादी प्रयोग अन्त्य गर्नका लागि तल्लो तहका किसानहरु नै जागरुक भईसके भन्न खोज्नु भएको हो ?
हो । वास्तवमा भन्ने हो भने किसानहरुले नै अहिले रासायनिक बिषादी घातक रहेछ । यसको प्रयोग गर्नु हुन्न भन्ने कुरा बुझिसक्नु भएको छ । रासायनिक बिषादीका कारण आफ्नो स्वास्थ्य मात्र होइन माटाको स्वास्थ्यमा समेत हानी पुग्ने हुनाले उत्पादनमा समेत ह्रास आईरहेको कुरा पनि विस्तारै चेतना अभिबृद्धि हुंदै गएको छ । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: बुधबार, बैशाख १५, २०७३