शुक्रबार, जेष्ठ ४, २०८१

दुग्ध विकास संस्थानको भ्रष्टाचार रोक्न सक्यो भने किसानहरुले राहत पाउँछन

rajener4a pant

राजेन्द्रराज पन्त
सञ्चालक
कामधेनु गाई फार्म,गोरखा

० घांस मात्र खुवाएर व्यवसायिक रुपमा गाई पाल्न कत्तिको सम्भव छ ?
हाम्रो पौराणिक कुरा हेर्ने हो भने पनि तिहार हरियो गोवरको चर्चा हुने गर्दछ । कारण के हो भने हरियो घांस खुवाएपछि मात्र हरियो गोवर गाईले दिन्छ । जंगलका निल गाईदेखि अन्य गाईहरु पनि घांस नै खाएर बाँचिरहेका छन् । त्यसकारण घांस मात्र खुवाएर गाई पाल्न सकिन्छ । अर्को कुरा घांस खेती गर्दा के फाइदा हुन्छ भने चितवनबाट पहाडी क्षेत्रमा पराल लैजान एक ट्रकको नै ४० हजार पर्न खोज्दछ । त्यसको सट्टा आफ्नै खेर गएको जग्गामा घांस उत्पादन गर्दा मल पनि हुन्छ । दूध बढ्ने दूधमा अनि पोषिलो र फ्याट पनि बढ्ने हुन्छ । घांस खेती नगरी गाईबस्तु पाल्नु हुंदैन । यदि तपाई सक्नु हुन्न भने पनि २५ प्रतिशत घांस गाईबस्तुलाई दिनुस् ।
० जे जसरी गाई पाले पनि किसानले दूधको मूल्य पाउंदैन भन्छन् नि त हो ?
सवै भन्दा पहिले हामी उन्नत जात र बढी दूध दिने गाईको जातको सिमेनमा आत्मनिर्भर हुनु पर्दछ । राज्यले कम्तिमा ३० लिटर दूध दिने गाईको व्यवस्था गर्नु पदर्छ । १० लिटर दूध दिने तीन वटा गाई पाल्नु भन्दा ३० लिटर दूध दिने गाई पाल्दा तीनवटा गाईलाई आवश्यक आहार त एउटालाई लाग्दैन । लागत मूल्य बढी भएपछि मूल्य पाउने त कुरै हुंदैनन् । त्यसका लागि विदेशबाट राम्रा राम्रा सिमेन ल्याएर हामी जस्ता ठूला फार्म गाई पालिरहेका सहकारीहरु मार्फत बाछी उत्पादन गर्नु पर्दछ । त्यसका लागि पनि पशु प्रजनन् नीति ल्याउने र कार्यान्यन गर्नु पर्दछ ।
० तर उत्कृष्ठ सिमेन ल्याउने भनिएपनि त्यस्तो हुंदैन भन्छन् नि त ?
उन्नत नश्लका लागि सिमेन ल्याउंदा जुन कम्पनीले उपलब्ध गराउने हो त्यसलाई न्यूनतम मापदण्ड बनाउने र त्यो अनुरुप भएन भने कार्वाही गर्ने गर्नु पर्दछ । दूध बढी उत्पादन गराउनका लागि आहार के के ख्वाउनु पर्ने हो कस्ता पोषण युक्त आहार ख्वाउनु पर्ने हो त्यो किसानले ख्वाउंछ । दूध उत्पादन बढी हुने हो भने किसानले लागत पाईहाल्छ नि । कुरा मात्र बढी गरेर भएन काम हुनु पर्दछ ।
० लागत मूल्य आएन दूधको मूल्य बृद्धि गर्नु पर्दछ भन्ने किसानहरुको माग छ नि त ?
मूल्य बृद्धि गरेर हुंदैन । उपभोक्ताहरुले धान्न सक्नु प¥यो नि । भोली एक लिटर दूध प्रयोग गर्ने उपभोक्ताहरुले आधा लिटर मात्र प्रयोग गर्न थाले भने के हुन्छ । मूल्य बृद्धि गर्नुको कुनै औचित्य छैन । बरु हामीले के गर्नु पर्दछ भने दूधको मूल्य घटाएर उपभोक्तालाई बढी ख्वाउन सक्नु पर्दछ ।
० मूल्य घटाउनका लागि के गर्ने त ?
सवैभन्दा महत्वपूर्ण कुरा नै घांस खेती हो । घांसखेती गरेर दूधको उत्पादन लागत घटाउन सकिन्छ । अनि दश लिटर दूध दिने गाईको सट्टा तीस लिटर दूध दिने गाईको सांढे ल्याएर वंश सुधार गर्दै जानु प¥यो । बिसौ बर्षदेखि बंश सुधार भन्दै नारा मात्र लगाएर पशु विभागले के ग¥यो त ? केही पनि गर्न सकेको छैन । त्यसका कारण मेरो भनाई के छ भने थोरै गाईबाट धेरै दुध उत्पादन गरौं । दूधको मूल्य घटाऔं र उपभोक्ताहरुलाई दूध प्रयोग गर्न उत्प्रेरित गराऊ ।
० मूल्य घटाउंदा फेरि उपभोक्ताहरुले गुणस्तर छैन भन्ने पनि हुन सक्ला नि ?
त्यसो होइन अहिले दुधको गुणस्तर के छ त्यो अनुसन्धान गर्नु पर्दछ । दुग्ध विकास संस्थान होस् वा निजी डेरी उद्योगहरुले बाहिरबाट ल्याएको धूलो दूधको क्वालिटी के छ ? त्यो क्वालिटीको विषयमा किसान र उपभोक्ता दुवैले जान्न पाउनु पर्दछ । तर त्यसो हुन सकेको छैन । चैत लागेपछि दूध पुगेन भन्ने अनि भदौ लागेपछि दूध चाहिदैन भन्ने उद्योगीहरुका कारण किसान मारमा परिरहेका छन् । गतबर्ष इलाममा किसानहरुले उत्पादन गरिदिएको दूध नकिन्दिंदा दशौं दिनसम्म दूध सडकमा फाल्नुपर्ने अवस्था आयो जसले दर्जनौ फार्महरु बिग्रेर गए । धनकुटामा पनि त्यस्तै भयो । निजीले गल्ती ग¥यो भन्दैमा सरकारी संस्थानले त त्यसो गर्नु भएन नि , त्यो त अर्धसरकारी हो नि । उसले त झन् निजी डेरीलाई पनि सिकाईदिएको छ । किसानको दूध किन्नु भन्दा धूलो दूध विदेशबाट ल्याउने । आज धूलो दूध ल्याउने को हो त ? दुग्ध विकास संस्थान नै हो । धूलो दूध आफू ल्याउने अनि अरुलाई सप्लाई गर्ने काम त दुग्ध विकास संस्थानले नै गरेको हो नि त । त्यसकारण गुणस्तर व्यवस्थापन दुग्ध विकास संस्थानले गर्ने हो ।
० त्यसो भए राज्यले सञ्चालन गरेको दुग्ध विकास संस्थान नै व्यवस्थित छैन ?
हो । उसैका कारण मुलुकभर भद्रगोल भएको छ । हिजो किसानहरुले जति दूध उत्पादन गरेको भएपनि चितवन मिल्कले लिन्थो धुलो दूध बन्थ्यो, त्यो बन्द भो । चितव मिल्क बन्द भो साहु त आरामले बसिरहेको छ तर, किसानहरु त मारमा परे नि । त्यो कुरा सोच्नु पर्दछ ,त्यो कसले सोच्ने । खाली दुई बर्षमा यसो गर्दछु र उसो गर्दछु मिल्क होलिड हुन दिन्न भन्ने । त्यसो भए दुई बर्षसम्म गाई नपाल्ने त ?
० दुग्ध विकास संस्थानले किन त्यसो गरेको होला त ?
अरु केही पनि होइन भ्रष्टाचारको सञ्जालका कारण दूध उत्पादन गर्ने किसान मरिरहेका छन् । केही समय अगाडि दुग्ध विकास संस्थानले वितरण गरेको दूध सवै फिर्ता आएको हो नि त्यो कति गुणस्तरको थियो त । ढांटेर ढांटिन्न नि । दुग्ध विकास संस्थानको भ्रष्टाचार रोक्न सक्यो भने किसानहरुले धेरै नै राहत पाउछन् । विदेशबाट आयात गरिएको दूध गुणस्तरीय छ भनेर कुन निकायले हेरेको छ ? दुग्धका सहकारीहरुले किन हेर्ने सकेनन् । किन रोक्न सकेनन् । दूधका यी सहकारी भनेको किसानहरुको दुध किन्ने अनि दुग्ध विकास संस्थानलाई बेचेर फाइदा खाने । उनीहरुले आफ्नो डेरी बनाएको खै ? जस्तै भारतको अमूल कम्पनीले के गरिरहेको छ त्यस्तै नेपालका किन भएको छैन गर्न नसकिने त होइन । इच्छ नभएर किसानसंग सस्तोमा दूध किनेर महंगोमा बेच्न पाएपनि किन त्यसो गर्दछन् ? कसरी हुन्छ कमाउधन्दा चलाएका छन् ।
० दुग्ध सहकारीहरु भनेको त किसानले उत्पादन गरेको दूध संकलन गर्ने नाफा खाएर डेरीलाइृ बेच्ने मात्र हो भन्छन् नि त ?
कुरा त्यही नै हो । यहां त देखावटी एउटा गर्ने एउटा छ । पहुंच पनि सहकारी कै छ । दुग्ध विकासका नाममा खुलेका सहकारीहरु खाली राजनीति गर्ने भएकाले विग्रको हो । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: शनिबार, बैशाख ४, २०७३