आइतवार, बैशाख २३, २०८१

किसान कल सेण्टर आथिक अभावका कारण संकटमा

काठमाडौं, वैशाख । किसानहरुलाई कृषि उत्पादनका लागि परेका समस्या, रोग, कीरा वा प्राविधिक सल्लाह तत्काल उपलब्ध गराउने सोच अनुरुप कृषि विकास मन्त्रालयले स्थापना गरेको किसान कल सेण्टर दयनीय हुन पुगेको छ । २०७२ फागुन १६ गते कृषि विकास मन्त्री हरिवोल प्रसाद गजुरेलले उद्घाटन गरेको सो कल सेण्टर हरेक आईतबार, मंगलबार र विहीबार दिउसो ११ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने भनिएपनि कतिपय समय कृषि विज्ञहरुको अभावका कारण किसानहरुले आफ्नो बाली तथा पशुहरुमा देखा परेको समस्याको तत्काल उत्तर पाउन सकिरहेका छैनन् । call center
कृषि सूचना तथा सञ्चार केन्द्रको भवन हरिहरभवनमा रहेको सो कल सेण्टर सञ्चालनको कार्यविधि नभएका कारण अहिले अन्यौलमा परेको कृषि सूचना तथा सञ्चार केन्द्रले बताएको छ ।
किसान कल सेण्टर स्थापना भएपनि सो सेण्टर सञ्चालनका लागि कुनै पनि बजेट नभएकोले अहिले सो कल सेण्टर सञ्चालन गर्न असहज बन्दै गईरहेको बताइएको छ ।
कृषि मन्त्री गजुरेलको आग्रह बमोजिम कल सेण्टर स्थापना गरिएको भएपनि कल सेण्टर स्थापनाका लागि खरिद गरिएका मिक्चर, लगायतका उपकरणहरुको अझैसम्म भुक्तानी गरिएको छैन । जसका कारण उपकरण खरिद कर्ताले उपकरण फिर्ता लैजानेसम्मको अवस्था आईसकेको बताइएको छ । किसान कल सेण्टरमा विज्ञहरुको अभाव हुने गरेको चर्चा चलेपनि सूचना केन्द्रले भने किसान कल सेण्टरका लागि आवश्यक कृषि विज्ञहरुको अभाव नभएको भने पनि वैशाख २ गते विहिबारका दिन कल सेण्टर सञ्चालन गर्नु पर्ने भएको भएपनि कल सेण्टर भने बन्द देखिएको थियो । सो विषयमा केन्द्रले विज्ञहरु गोष्ठिमा गएकाले सो दिन कल सेण्टर सञ्चालन गर्न नसकिएको जानकारी दियो । तर किसानहरुले सोधेको प्रश्नतथा समस्या टिपेर पछि फोन गरी जानकारी गराउने गरेको कल सेण्टरमा कार्यरत एक कर्मचारीले बताए ।
चालु आर्थिक बर्षमा कल सेण्टरका लागि कुनै पनि बजेट नहुंदा किसान कल सेण्टरमा आउने विज्ञहरुलाई रित्तै पठाउनु परेकाले समस्या परेको बताइएको छ । कृषि विज्ञहरु आउने तर चिया खर्च पनि नभएकाले नियमित कृषि विज्ञहरुलाई आउने वातावरण बनाउन नसकिएको गुनासो गरे । किसान कल सेण्टरलाई विज्ञहरुको अभाव होइन विज्ञहरु परिचालन गर्नका लागि आवश्यक कार्यविधिको अभाव भएको उनले बताए । किसान कल सेण्टरका लागि बजेट अभाव र बजेट खर्च गर्नका लागि कार्यविधि नभएकोले पनि संकटमा परेको बताइएको छ ।

प्रकाशित मिति: शनिबार, बैशाख ४, २०७३