शुक्रबार, बैशाख १४, २०८१

स्याउ उत्पादनमा १० प्रतिशतल वृद्धि

लमजुङ,  २१ कार्तिक। हिमाल पारीको जिल्ला मनाङमा यो बर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ ।

स्याउको फूल फुल्ने बेलामा अनुकूल मौसम भएकाले यस वर्ष उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय मनाङले जनाएको छ । मनाङमा यस वर्ष ७ सय ३९ मेट्रिक टन स्याउ उत्पादन भएको छ ।

गतवर्ष ६ सय ७२ मेट्रिक टन मात्रै स्याउ उत्पादन भएको थियो । उत्पादित स्याउको बिक्रीबाट किसानले २ करोड रुपैयाँ भन्दा बढी कमाई गर्ने कृषि कार्यालयले जनाएको छ ।

जिल्लाका १३ मध्ये ११ गाविसमा स्याउ उत्पादन हुने गर्दछ भने विकट नार र फु गाविसमा भने स्याउ खेती गरिँदैन ।

उता, मनाङ जिल्लालाई स्याउको मोडेल जिल्लाको रुपमा विकास गर्ने लक्ष्य अनुरुप भ्राताङमा एग्रो मनाङ प्रालिले ५० हजार स्याउका विरुवा रोपेको छ ।
इटाली र सर्भियाबाट प्रति विरुवा १ हजार ५ सय रुपैयाँका दरले खरिद गरि बिरुवा रोपिएको हो ।

बिरुवा रोपेको पाँच महिनामै उत्पादन दिन शुरु गर्दछ । १६ करोड रुपैयाँ लगानीमा गरिएको स्याउ खेतीबाट बार्षिक १५ लाख किलो स्याउ उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति: शनिबार, कार्तिक २१, २०७२