शुक्रबार, बैशाख १४, २०८१

तिहारको फूल दसैंमै फुल्यो

धनकुटा, ४ कार्तिक । तिहारमा बिक्रीका लागि रोपिएको फूल दसैंमै फुलेपछि धनकुटाका पुष्प व्यवसायी मर्कामा परेका छन् ।
तिहारको समयमा मात्र बिक्री हुने गरेको फूल यतिबेला फुलेर खेर जाने भएपछि धनकुटाका पुष्प व्यवसायी किसान मारमा परेका हुन् । धनकुटाको सिप्तिङ, कागते, स्याउलेलगायतका स्थानमा फूल फुलिसकेको छ ।
यस क्षेत्रमा मात्रै दुई सयभन्दाबढी किसानले व्यवसायिकरुपमा फूल खेती गर्दै आएका छन् । गत वर्षको तुलनामा यो वर्ष दसैं तथा तिहार ढिलो भएको कारण तिहारअघि नै फूल फुलेको स्थानीय किसानले बताएका छन् ।
धनकुटामा तिहारको समयमा प्रत्येक किसानले २० हजारदेखि दुई लाख रुपैयाँसम्मको फूल बिक्री गर्ने गर्दछन् । यहाँ उत्पादित फूल धरान, इटहरी, विराटनगरसहित पूर्वका विभिन्न बजारमा बिक्री हुने गरेको छ ।

प्रकाशित मिति: बुधबार, कार्तिक ४, २०७२