शुक्रबार, बैशाख १४, २०८१

दुइ दर्जन भन्दा बढी देशबाट सस आयात

काठमाडौं, २५ असोज । गोलभेंडा, फर्सी जस्ता कृषिवस्तुबाट स्वदेशमा उत्पादन गर्न सकिने सस २६ भन्दा धेरै देशबाट आयात हुने गरेको छ । घरेलु, साना उद्योगलाई बढावा दिने नीति सरकारले लिएकै बेला तिनै उद्योगले उत्पादन गर्न सक्ने सस आयात निरन्तर बढिरहेको तथ्यांकले देखाउँछ ।स्थानीय सामान्य प्रविधि र तालिमबाट उत्पादन गर्न सकिने सस गत आर्थिक वर्षमा ४७ करोड ७४ लाख ९४ हजार रुपैयाँभन्दा बढीको आयात भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको अभिलेख अनुसार विभिन्न ३ शीर्षकमा उक्त रकमको सस आयात भएको छ ।sas

व्यवसायीहरु सरकारी नीतिकै कारण घरेलु तथा साना उद्योग फस्टाउन नसकेको बताउँछन् । ‘सरकारको नीति साना र घरेलु उद्योगलाई बढावा दिने भन्दा पनि सामान आयात गरेर राजस्व संकलन गर्ने छ,’ महिला उद्यमी महासंघकी अध्यक्ष रिता भण्डारीले भनिन्, ‘खुला अर्थतन्त्र भन्दैमा जथाभावी सामान आयात गर्दा स्थानीय उत्पादन घट्दै गएका छन् ।’

केन्द्रको तथ्यांकअनुसार सस शीर्षकमा ३७ करोड ५० लाख ९० हजार रुपैयाँको आयात भएको छ । यो सस आयात हुने देश २६ वटा छन् । बंगलादेश, चीन, जापान, कोरिया, मलेसिया, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलंका, थाइल्यान्ड, युएई, भारत, इजिप्ट, दक्षिण अफ्रिका, ट्युनिसिया, श्रीयालियोन, अमेरिका, अष्ट्रिया, बेल्जियम, जर्मनी, इटाली, नेदरल्यान्ड, बेलायत र पोल्यान्डबाट आयात भएको छ ।

नेपालमा आयात हुने अर्को सोया सस हो । ४ लाख ५ हजार २ सय ३० केजी सोया सस २ करोड ६८ लाख ९४ हजार रुपैयाँ तिरेर ल्याइएको छ । यो सस चीन, जापान, कोरिया, मलेसिया, सिंगापुर, थाइल्यान्ड, युएई, भारत र इटालीबाट ल्याइएको छ ।

नेपालमा आउने अर्को सस हो– टोमाटो केचप एन्ड सस । ७ करोड ५५ लाख ९ हजार रुपैयाँको ४ लाख ५७ हजार ९ सय ७० केजी टोमाटो केचप एन्ड आयात भएको छ । यो चीन, जापान, कोरिया, सिंगापुर, थाइल्यान्ड, युएई, भारत, अमेरिका र इटालीबाट ल्याइएको छ ।

के नेपालमा नेपाली बजारलाई पुग्ने गरी सस उत्पादन हुन सक्दैन ? सात समुद्रपारिबाट ल्याउनैपर्ने स्थिति छ त ? महासंघकी अध्यक्ष भणडरी भन्छिन्, ‘दुई वर्ष दुःख गर्ने हो भने हामीले घरेलु बजारलाई पुग्ने सस उत्पादन गर्न सक्छौं ।’

विश्व व्यापार संगठनको प्रवेशसँगै जताबाट जस्तो पनि सामान ल्याउँदा नेपाली उत्पादन मर्कामा परेको भण्डारी बताउँछिन् । खुला अर्थतन्त्र भन्दैमा चाहिने, नचाहिने सामान ल्याउने प्रचलन बढेको र देशमा उत्पादन हुने सामान पनि बारिहबाट ल्याउँदा स्थानीय उत्पादनलाई मर्का परेको उनको ठहर छ ।

‘हामीलाई चाहिने कच्चा पदार्थ मात्र ल्याउनु पथ्र्यो,’ भण्डारीले भनिन्, ‘तर, हाम्रो देशमा उत्पादन हुने पनि जथाभावी ल्याउँदा यस्तो स्थिति भएको हो ।’ यस्तो हुनुमा खास गरी सरकारी नीति नै खराब रहेको उनको ठहर छ । सरकारले नेपाली उत्पादन बढाउने भन्दा राजस्व बढी उठ्ने नीति लिँदा जे पनि आयात भएको उनी बताउँछिन् । अरु देशमा नभई नहुने र आफ्नो देशमा उत्पादन नहुने सामान मात्र विदेशबाट ल्याउने नीति रहेको उनको भनाइ छ । ‘नेपालमा उल्टो छ,’ उनले भनिन् । राज्यले स्थानीय उत्पादनलाई प्रोत्साहन दिने र चाहिने विदेशी सामान मात्र आयात गर्ने नीति लिनुपर्ने उनको भनाइ छ । -सन्तोष न्यौपाने

प्रकाशित मिति: सोमवार, अशोज २५, २०७२