शुक्रबार, बैशाख २१, २०८१

१० बर्षदेखि निमित्तको भरमा

डोल्पा,१७ असोज । कृषि विभाग मातहतमा रहेको जिल्ला कृषि कार्यालय दैलेखमा निमित्त कार्यालय प्रमुख सूर्य योगीको दादागिरीका कारण विगत १० बर्षदेखि उपसचिव स्तरका कोही पनि कर्मचारी दैलेखमा सरुवा भएर जान सकेका छैनन् । विगतमा मन्त्रालयले सरुवा गराएर पठाएका हाकिमहरु पनि निमित्त हाकिम योगी दादागिरीका कारण जिल्लामा बस्न नसकेपछि अन्यत्रै काजमा सरुवा भएर गएका छन् । दुई दुई बर्षमा जिल्लाका हाकिमहरुलाई सरुवा सरुवा गर्ने परिपाटी रहेको भएपनि दैलेख जिल्लामा भने विगत १० बर्षदेखि योगीले निमित्त भएर कार्यालय हाकिरहेका छन् । विगतमा कार्यालय प्रमुख भएर गएका राजेन्द्र प्रधानलाई योगीले कार्यालयको सांचो समेत नदिएपछि उनी वाध्य भएर क्वाटर हुदा हुदै केही दिन होटलको बास गरेर कार्यालयमा हाजिर गर्न प्रयास
पनि गरेका थिए । तर स्थानीय बासिन्दा रहेका सूर्य योगीलाई जिल्ला कृषि विकास कार्यालयमा हालिमुहाली गर्न नपाएर छट्पटिएपछि उनले विभाग र मन्त्रालयसम्मको आर्थिक लेनदेनबाट राजेन्द्र प्रधानलाई दैलेखबाट हटाउन सफल भएका थिए । जिल्लाको बजेट जिल्ला प्रमुखले नै खर्च गर्ने अधिकार भएपछि योगीले दैलेख जिल्लाका कुनै पनि कार्यालय प्रमुखलाई प्रवेश गर्न रोक लगाए जस्तै गरेका छन् । एमाले कार्यकर्ताका रुपमा गनिएका योगीले एमालेकै हाकिम दैलेख जांदा पनि कार्यालयमा काम गर्न दिने गरेका छैनन् । गत बर्ष सरुवा भएर गएका नरहरि घिमिरेलाई पनि दैलेखमा योगीले बस्न नदिएपछि उनलाई विभागले व्यवसायिक कृषि तथा व्यापार आयोजनाको मध्यपश्चिमको आयोजना सहयोग समूह (प्रिस्ट) कार्यालयमा काजमा पठाएको छ ।
दैलेख कृषि कार्यालयमा हुने गरेको आर्थिक अनियमितालाई विभागले आंखा चिम्म गरेर बसेका कारण पनि यो अवस्था आएको मन्त्रालय स्रोतले बताएको छ । एउटै व्यक्तिलाई १० बर्षसम्म निमित्त प्रमुखका रुपमा राखिरहनुको कारण के हो सहजै अनुमान लगाउन सकिन्छ । दैलेख कृषि विकास कार्यालय कै कर्मचारीका अनुसार पनि बजेट के के मा कसरी खर्च हुन्छ केही थाहा नै हु“दैन । उनीहरु भन्छन्, निमित्त हाकिम योगीले मन्त्रालयसम्म सेटिङ्ग मिलाएर खर्चको बजेट सिध्याउने गरेका छन् । योगीको यही हर्कतका कारण नै साना सिंचाईको बजेट होस् वा युवा लक्षित कार्याक्रमको बजेट पनि पारदर्शि हुन सकेको छैन । जिल्लामा छुट्याइएको बजेटमा तर मार्न पल्केका योगीले हरेक कुरामा कमिशन विना काम गर्ने गरेका छैनन् । अर्को कुरा उनले अनुदान दिने कार्यक्रममा पनि कि त आफन्त कि भने कमिशनको खेलोमा नै अनुदान स्वीकृत गर्ने गरेको अनुदान प्राप्त गरेका व्यक्तिहरु नै बताउंछन् । रकम नदिए काम नै बन्दैन सित्तैमा आएको अनुदान हो केही प्रतिशत दिंदा पैसा आउंछ भने किन नदिनु भन्ने किसिमले कमिशन बुझाउने गरेको उनीहरु स्वीकार गर्दछन् ।
दैलेख जिल्लामा १० बर्षदेखि निमित्त हाकिम बन्न पाएका भाग्यमानी सूर्य योगीको भाग्यले कतिसम्म साथ दिने हो त्यो कृषि विभाग र कृषि विकास मन्त्रालयकै हातमा छ । उनको रवैयामा चल्ने उच्च अधिकारीका कारण त्यहां सरुवा भएर जाने हाकिमहरु हैरानमात्र व्यहोदैनन् जान नपाईकनै लखेटिने गरेको दैलेखका सरुवा भएर काम गर्न नपाएका धेरै वरिष्ठ कृषि विकास अधिकृतहरुले स्वीकार गरेका छन् । माथिल्लो निकायले नै केही नगरेपछि हामीले के नै पो गर्न सक्छौं, उनीहरुको आरोप छ । के दैलेख कृषि कार्यालयमा काम गर्न सक्ने सक्षम कृषि अधिकृत नभएरै योगीले १० बर्षसम्म निमित्त चलाएका हुन् ? होइन भने कृषि विभाग र कृषि विकास मन्त्रालयको प्रशासनले किन १० बर्षसम्म योगीलाई निमित्त रुपमा स्वीकार गरिरहेको छ ? त्यो आउने दिनले बताउने छ ।

प्रकाशित मिति: आइतवार, अशोज १७, २०७२