शुक्रबार, बैशाख १४, २०८१

च्याउका लागि ३२ लाख अनुदान

झापा, १३ असोज । विगत केही बर्षदेखि कृषि विकास मन्त्रालयले युवालाई स्वरोजगार बनाउन सञ्चालन गरेको युवा लक्ष्यित कार्यक्रम प्रति विशेष गरी विदेशबाट फर्केका युवाहरु आकर्षित बन्न थालेका छन् । बेमौसमे तरकारी मात्र होइन युवाहरु च्याउ खेती तर्फ पनि आपूmलाई क्रियाशील बनाईरहेका छन् । युवाहरुलाई कृषिमा आकर्षण गर्नका लागि मन्त्रालयले जिल्ला कृषि कार्यालय मार्फत नै अनुदानको व्यवस्था गरेपछि यो आधारभूत तालिमदेखि आवश्यक प्राविधिक समेत जिल्ला कृषि विकास कार्यालय उपलब्ध गराउँदै आएको छ । सोही बमोजिम जिल्ला कृषि विकास कार्यालयले यो बर्ष ८० जना किसानलाई तालिमसँगै नगद रु ४० हजारका दरले अनुदान रकम उपलब्ध गराएपछि अनुदान प्राप्त गरेका किसानहरु व्यवसायिक च्याउ खेती तर्फ आकर्षित बनेका हुन् । chyau
जिल्ला कृषि विकास कार्यालयले युवालाई तालिमसँगै च्याउ उत्पादनका लागि अनुदान रकम दिएपछि अहिले जिल्लाका १५० जनाले व्यवसायिक फार्म दर्ता गरेर च्याउखेती गर्दै आएका छन् । तीन सयभन्दा बढी कृषकले अहिले दैनिक च्याउ उत्पादन गरिरहेको जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिमल्सेनाले जानकारी दिएका छन् ।
जिल्लामा बिर्तामोडसँगै दमक, काँकरभिट्टा, कनकाई, शिवसतासी र भद्रपुर नगरपालिका कृषकले व्यावसायिक च्याउ खेती गर्दै आएका छन् । दुई वर्षअघि सम्म भारतबाट नेपाली बजारमा उपभोग गरिने च्याउ आयात गरिँदै आए पनि आर्थिक वर्ष २०७१÷७२ बाट झापाले इलाम, पाँचथर र ताप्लेजुङमा समेत च्याउ निर्यात गर्दै आएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०७१÷७२ सालमा जिल्लामा एक हजार आठ सय मेट्रिक टन च्याउ उत्पादन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा पाँच सय मेट्रिक टनले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७०÷७१ मा एक हजार तीन सय मेट्रिक टन मात्रै च्याउ उत्पादन भएको थियो ।

प्रकाशित मिति: बुधबार, अशोज १३, २०७२