शुक्रबार, बैशाख १४, २०८१

चियाको विकल्पमा अन्य खेती

इलाम, ४ असोज । वर्षाैंदेखि चिया खेतीमा संलग्न किसान यतिबेला चियाखेती छाडेर वैकल्पिक खेतीमा जुटेका छन् ।
विभिन्न कारणले चिया खेतीप्रति निरास बन्दै गएका किसानले यसको विकल्पमा अलैँची, तरकारीखेती तथा गाईपालन व्यवसाय थालेका हुन् । चियाको मुना नपलाउनु, हरियोपत्तीको मूल्य कम पाउनु र चियामा विभिन्न किसिमका रोग देखापर्न थालेपछि किसानलै वैकल्पिक रोजगारीको माध्यम अँगाल्न थालेका हुन् ।
“चियाको मुनामा रोग कीराको सङ्क्रमण देखियो, विगतमा जस्तो पत्ती पलाउन सकेन्” जिर्मलेका कृषक गोविन्द पौडेलले भने । एकातिर उत्पादन कम र अर्काेतिर चियाको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । यो मौसममा हरियोपत्तीको मूल्य अत्यन्तै कम रहेको छ ।
फस्ट फल्समा गत वर्ष प्रतिकिलो रु ४० सम्म पुगेको चिया अहिले रु ३२ मा झरेको छ । “पत्तीसमेत पोहोरजतिको पलाएन, त्यहीमाथि मूल्य पनि कम छ” पौडेलले भन्नुभयो । हरियोपत्ती टिपेर बेच्दा मजदुरको ज्याला पनि नपुग्ने उनको भनाइ छ ।
चियाबाट खासै आम्दानी नभएपछि चियाको सट्टा अलैँची बगान सुरू गरेको पौडेलले बताए । अहिले पूर्वका दुई दर्जनबढी चिया कारखानाले ए ग्रेडको चिया प्रतिकिलो रु ३२, बी ग्रेडको रु २५ र सी ग्रेडको चियाको मूल्य रु १६ दिँदै आएका छन् ।

प्रकाशित मिति: सोमवार, अशोज ४, २०७२