शुक्रबार, चैत्र १६, २०८०

जाजरकोटमा छ महिनापछि खाद्यान्न

जाजरकोट, ४ असोज । जिल्लाका खाद्यान्न सङ्कट देखापरेका एक दर्जन गाविसका लागि आइतबार खाद्यान्न पठाएको छ । जिल्लाको चौखा र घाट डिपोमा खाद्यान्न पठाएको नेपाल खाद्य संस्थान जाजरकोटमा प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिएका छन् । रग्दाको चौखा डिपोमा ४५ क्विन्टल र घाट डिपोका लागि ४० क्विन्टल २० किलो चामल पठाएको बस्नेतले बताए ।
यहाँका डिपोमा छ महिनादेखि खाद्यान्न नहुँदा स्थानीयवासीमा समस्या परेको थियो । नयाँ अन्न नपाकेको र पुरानो सकिएका कारण जिल्लाका दर्जन बढी गाविसमा खाद्यान्न सङ्कट देखा परेको थियो । खाद्यान्न घोडा र खच्चडमार्फत ढुवानी गरी डिपोमा पु¥याइने छ ।
केही दिनअघि जिल्ला खाद्य सुरक्षा समितिले खाद्य सङ्कट देखापरेका ठाउँमा तत्काल खाद्यान्न पठाउन लागि नेपाल खाद्य संस्थानको केन्द्रीय कार्यालयलाई ढुवानी भाडा बढाएर पठाउन अनुरोध गरेको थियो ।
वर्षात्का कारण यहाँका ग्रामीण क्षेत्रका सडक बन्द भएका कारण पुरानो भाडा दरमा खाद्यान्न ढुवानी गर्न समस्या आएपछि भाडा दर बढाउन केन्द्रसँग माग गरिएको थियो । केन्द्रसँग भाडा बढाउन माग गरे पनि अहिलेसम्म भाडा दरको विषयमा सुनुवाइ नगर्दा नेपाल खाद्य संस्थान जिल्ला शाखाले नै पुरानो दरमा जिल्लामा मौज्दात रहेको अघिल्लो वर्षको चामल ग्रामीण क्षेत्रका दुईवटा खाद्य डिपोमा पठाएको हो ।

प्रकाशित मिति: सोमवार, अशोज ४, २०७२