मङ्लबार, बैशाख २५, २०८१

बढ्दैछ उन्नत जातका पशुपालन व्यवसाय

पाल्पा, १९ भाद्र । पछिल्लो समयमा पशुपालन तर्फ धेरैको आकर्षण बढ्न थालेको छ । विगतमा भन्दा अहिले पशुपालन गर्नेहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएकाले पनि यो व्यवसाय तर्फ आकर्षण थपिएको छ । साथै व्यवसायिक पशुपालनबाट आम्दानी पनि धेरै हुन थालेपछि पाल्पा जिल्लाका युवा यस पेसातर्फ आकर्षित भएका छन् । बङ्गुर, बाख्रा, गाईभैँसी पालनलगायतका क्षेत्रमा सजिलै आम्दानी हुन थालेपछि युवाले उन्नत प्रजातिका पशुपालन व्यवसाय रोज्न थालेका हुन् । स्थानीय जातका पशुपालनबाट भन्दा उन्नत जात पशुपालनबाट छिटो आम्दानी हुने भएपछि किसानको रुचि यसैतर्फ बढेको छ । उन्नत जातका बाख्रा र बङ्गुरबाट छिटो मासु तयार हुन्छ । जिल्लाका किसान उन्नत जातका पशुपालन गरी मासु उत्पादनतर्फ केन्द्रित भएपछि यो मासुमा पाल्पा आत्मनिर्भर बनेको छ ।
पाल्पा जिल्लाका बाह्र गाविसमा ६१ वटा बाख्राका फार्म सञ्चालित छन् । हाल पाल्पामा ४५ हजारभन्दा बढी उन्नत जातका बाख्रा किसानले पाल्दै आएको जिल्ला पशुसेवा कार्यालय, पाल्पाले जनाएको छ ।
स्थानीय जातका गाईभैँसीको तुलनामा उन्नत जातका गाईभैँसीले बढी दूध दिने गरेको किसानको भनाइ छ । उन्नत जातका गाई पाल्ने व्यवसायीको सङ्ख्या अघिल्लो आवको तुलनामा गत आवमा २४.५ प्रतिशत र उन्नत जातका भैँसी पाल्नेहरू ४.८ प्रतिशतले वृद्धि भएको पाइएको छ । उन्नत जातका गाईभैँसीपालन बढेसँगै दूधमा पनि पाल्पा जिल्ला आत्मनिर्भर बन्दै गएको छ । पशुपालन व्यवसायबाट जिल्लाभर १७२ जनाले रोजगारी पाएका हुन् ।

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७२