शुक्रबार, चैत्र १६, २०८०

तीनजुरेको चिया तेस्रो मुलुकमा बिक्री

इलाम, १८ भाद्र । अर्गानिक चिया उत्पादन गरिरहेको तीनजुरे चिया सहकारी संस्थाका चिया तेस्रो मुलुक निर्यात भएको छ ।
विभिन्न देशका चियासँग सम्बन्धित उद्योगी तथा व्यापारीहरूले कारखानामै पुगेर चियाको गुणस्तर मापन गरेपछि पाँच हजार किलोग्राम तयारी चिया निर्यात भएको हो । अमेरिका, जर्मनी, फ्रान्स, अर्जेन्टिना, जापान र छिमेकी मुलुक भारतमा अर्गानिक चिया निर्यात गर्ने अवसर आएको सहकारी संस्थाले जनाएको छ ।
चिया खरिद गर्नुअघि गत चैत २७ गते अमेरिका, अर्जेन्टिना र जापानको मल्टिकम्प्लेक्स कम्पनीबाट आएका प्रतिनिधिहरूले चियाको गुणस्तरीयता मापन गरिएको थियो । परीक्षणका क्रममा चिया गुणस्तरीय रहेको र यसलाई पूर्ण अर्गानिक बनाउँदै लगेको खण्डमा यहाँको चियाको भविष्य विश्व बजारमा राम्रो रहेको उनीहरूले बताएको कारखानाका नवीन कोइरालाले बताए ।
पूर्ण अर्गानिक चिया उत्पादन भए यहाँको चिया तेस्रो मुलुकमा महँगो मूल्यमा बेचिदिने चिया परीक्षणमा आएका विदेशी चिया व्यापारीले आश्वासन दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७२