शुक्रबार, बैशाख १४, २०८१

एकै सिजनमा ३ करोडको तरकारी

नेपालगन्ज, ३२ साउन । कृषि क्षेत्रमा भित्रिएको आधुनिक प्रविधिको प्रयोगका कारण बाँके जिल्लामा तरकारी उत्पादनमा उल्लेख्य वृद्धि हुँदै गएको छ । आधुनिक औजार र प्रविधि अपनाएपछि जिल्लामा तरकारी उत्पादन सोचे भन्दा धेरै बढी भएको जिल्ला कृषि कार्यालय बाँकेले जनाएको छ ।

कृषिमा आधुनिक प्रविधिको प्रयोगकै कारण बाँके जिल्लाका चार वटा तरकारी उत्पादन समूहले एकै सिजनमा तरकारी बिक्री गरेर ३ करोड बढीको आम्दानी गर्न सफल भएका छन् ।

जिल्लाका चारवटा समूहले एकै सिजनमा तरकारी बिक्रीबाट ३ करोड २० लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको सो कार्यालयले जनाएको छ । बाँके वनकटुवा–३ को हाम्रो सहकारी कृषक समूह, टिटिहिरिया–३ को आत्मनिर्भर एग्री समूह, चिसापानी गाविसको कञ्चन कृषक समूह र जयसपुर–३ को बालविकास कृषक समूहले गत मंसिरयता मौसमी र बेमौसमी तरकारी उत्पादन गरेर सो आम्दानी गरेका हुन् ।

ती कृषक समूहले १ हजार २ सय ८२ मेट्रिक टन तरकारी बाँकेको मुख्य शहर नेपालगञ्ज, कोहलपुर, खजुरालगायत स्थानीय बजारमा बिक्री गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

ती चार वटा समूहले ५० हेक्टर जग्गामा आलु, काउली, भिण्डी, लौका, टमाटर, काँक्रा, फर्सी, करेलाजस्ता तरकारी उत्पादन गरिरहेका छन् । एक सिजनमा १ हजार ८७ मेट्रिक टन तरकारी उत्पादन गर्ने लक्ष्य लिएका उनीहरूले करिब ५ सय मेट्रिक टनभन्दा बढी तरकारी उत्पादन गरिसकेका छन् । अपेक्षा गरेभन्दा धेरै तरकारी उत्पादन भएको उनीहरुलाई सहयोग गर्ने सामाजिक विकास मञ्चले जनाएको छ । आधुनिक तरिका र प्रविधिका कारण यो सम्भव भएको जनाउदै सो संस्थाले यसबाट कृषि समूह हौसिएको बताएको छ । साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजनाको आर्थिक सहयोगमा सामाजिक विकास मञ्चले जिल्लाका चारओटा कृषक समूहलाई झण्डै ५० लाख रुपैयाँ अनुदान दिएको थियो ।

अनुदान रकममा ६० प्रतिशत रकम आफैले थपेर तरकारी उत्पादन सुरू गरिएको थियो । कृषक समूहलाई पावर टिलर, डिजल पम्पसेट, औषधि छर्किनेजस्ता आधुनिक औजार उपलब्ध गराइएको थियो । सुरूदेखि अन्तिमसम्म कृषि प्राविधिकलाई फिल्डमै खटाएर कृषकलाई प्राविधिक सहयोग समेत मन्चले गरेको थियो । आधुनिक प्रविधि भित्रिएपछि तरकारी उत्पादन बढेको जिल्ला कृषि विकास कार्यालय, बाँकेका सूचना अधिकृत धनबहादुर थापाले बताए । पछिल्लो समयमा आएर बाँके तरकारी उत्पादनमा आत्मनिर्भर बन्दै गएको उनको भनाई छ । पहिला सबै किसिमका तरकारी भारतबाट ल्याएर खानुपर्ने अवस्था रहेकोमा अब त्यो विस्तारै हट्दै गएको उनले बताए ।

प्रकाशित मिति: सोमवार, साउन ३२, २०७२