आइतवार, बैशाख २३, २०८१

‘एक गाउँ, एक उत्पादन’सम्बन्धी दोस्रो चरणको कार्यक्रम सुरु

इलाम, २३ जेठ । ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत छनौट गरिएको किवीफलसम्बन्धी इलाममा दोस्रो चरणको कार्यक्रम सुरु भएको छ । सरकारी योजनाअनुरूप नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको कृषि उद्यम केन्द्रको सो कार्यक्रम जिल्लामा उद्योग वाणिज्य सङ्घले सञ्चालन गर्दै आएको छ । गत वर्षदेखि सुरू गरिएको किवीफलसम्बन्धी कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । किवीफलका लागि छनौट गरिएको साँखेजुङ गाविसका किसानलाई यो फलबाट बनिने विभिन्न परिकार बनाउने तालिम दिन थालिएको छ । क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रशिक्षक काशीनाथ घिमिरेले किवीफलबाट जाम, जेली र जुस बनाउने तरिका बारेमा सहजीकरण गरिरहेका छन् ।

तीन दिनसम्म सञ्चालन हुने किवी प्रशोधनसम्बन्धी तालिममा २० जना किवी कृषकको सहभागिता रहेको छ । किसानलाई किवीको जुस, जाम, सर्वत, अचार, प्याकेजिङ तथा उद्योग सञ्चालन र बिक्री वितरणमा कानुनी व्यवस्थाका बारेमा जानकारी गराइने इलाम उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष नुतनदेव दुलालले बताए । जिल्लाका साँखेजुङ, माईमझुवा, सुलुबुङ, जमुना, लुम्देलगायतका गाविसमा यसको व्यावसायिक खेती गरिँदै आएको छ । यस्तैगरी ‘एक जिल्ला, एक उत्पादन’अन्र्तगत इलाम नगरपालिकाको बालन गाउँमा यस वर्षदेखि घरबास कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, जेष्ठ २३, २०७२