बिहिबार, बैशाख १३, २०८१

महिला अल्लोबाट आत्मनिर्भर बन्दै

कालीकोट, १५ जेठ । वन जङ्गलमा प्रयोगमा नआएर खेर जाने अल्लोबाट ग्रामीण भेगका महिलाले यथेष्ट आम्दानी लिन थालेका छन् । भर्ता गाविसका महिलाले अल्लोको कपडा उत्पादन सुरुवात गरेका हुन् । पहिलो पटक सञ्चालन गरेको अल्लोको कपडाबाट उनीहरुले वार्षिक रु सात लाखको आम्दानी गर्ने गरेका छन् । रु २० हजारको लगानीबाट सुरु गरेको व्यवसायबाट राम्रोे आम्दानी भएको हो । महिलाले आफँैले वनमा गएर अल्लो ल्याएर कपडा बनाउन थालेका हुन् । विसं २०६५ देखि अल्लो आम्दानीको स्रोत बनेको छ । जिल्ला लघुउद्यमी समूह सङ्घ (डि मेगा)को समन्वयमा सञ्चालित सीप विकास कार्यक्रमले उनीहरुको हौसला थपिएको हो ।

“सुरुवातमा सफलता मिल्छ कि मिल्दैन भन्ने अविश्वासका बीचमा काम गरियो” मालिका लघुउद्यमी समूहकी अध्यक्ष पानसरा रोकामगरले भने । आम्दानी हुन थालेपछि अन्य महिलामा पनि हौसला जागेपछि कामको थालनी गरेको उनको भनाइ छ । गोठमा सुरु गरेको उद्यमका लागि अहिले विभिन्न निकायबाट सहयोग जुट्न थालेको छ । मेडेपले अल्लो प्रशोधनका लागि रु एक लाख, जिल्ला वनबाट तान खरिदका लागि रु दुई लाख ८० हजार, घरेलु तथा साना उद्योग कार्यालयबाट रु एक लाख, गाविसबाट रु पाँच हजार सहयोग प्राप्त भएको सो समुहले जनाएको छ । समूहले सुरुवातमा रु ५० बचत गरेको भए पनि अहिले मासिक रु १०० बचत गरेर रु ४० हजार रकम जम्मा गरेको छ । “ठूलो उद्योगका रुपमा विकास गरेर लैजाने रोजगार दिने योजना बनाएका छौँ” अध्यक्ष रोकामगरले बताए । समूहलाई सहकारी गठन गर्ने तयारीमा रहेको उनको भनाइ छ । उत्पादन गरेको कपडाको बजार राम्रो पाएका कारण बिक्रीको समस्या छैन । अल्लोको कपडाबाट मासिक रु ३० हजारबराबर कमाइ गर्ने गरेको अध्यक्ष रोकामगरले बताए । हाल समूहसित सात वटा कपडा बुन्ने तान रहेका छन् । समूहको आफ्नै भवन रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ १५, २०७२