आइतवार, जेष्ठ ६, २०८१

कृषि तथा वन विज्ञान विविमा रु १४ करोड क्षति

चितवन, २५ वैशाख । यही वैशाख १२गतेको भूकम्पका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालयमा रु १४ करोडभन्दा बढिको क्षति पुगेको छ । विश्वविद्यालयका अनुसार सबैभन्दा बढी क्षति हेटौँडामा रहेको वन विज्ञान सङ्कायको भवनमा भएको छ । विश्वविद्यालयका रजिस्ट्रार डा सूर्यकान्त घिमिरेका अनुसार मुख्य प्रशासन भवन बस्न नमिल्ने गरी क्षति पुगेको छ । त्यस्तै परिसर, छात्रावास र पाले घरमा क्षति पुगेको छ । सो सङ्कायमा मात्र रु १३ करोडको क्षति भएको उनले बताए । त्यसैगरी कृषि सङ्काय रामपुर चितवनको कन्चनजङ्गा, सगरमाथा र धौलागिरि आवास भवन चर्किएको तथा पुस्तकालय, कक्षाकोठा र प्रयोगशालामा समेत क्षति पुगेको रजिस्ट्रार घिमिरेले बताए ।

कृषि सङ्कायमा मर्मत मात्रै गर्न रु ९५ लाखभन्दा बढी लाग्ने विश्वविद्यालयले जनाएको छ । त्यसैगरी विश्वविद्यालयको रामपुरमै रहेको पशु विज्ञान, पशुचिकित्सा र मत्स्यविज्ञान सङ्कायको कक्षाकोठा, प्रयोगशाला र भेटेनरी शिक्षण अस्पतालको माथिल्लो तला चर्किएको छ । सो मर्मतका लागि रु ५१ लाख लाग्ने बताइएको छ । उनले क्षति पुगेका सबै भवन पूरै निर्माण गर्दा निकै ठूलो खर्च हुने भए पनि मर्मत सम्भार मात्र गर्दा पनि रु १४ करोडभन्दा बढी लाग्ने गरी क्षति पुगेको बताए । भूकम्पले क्षति पुगेपछि आगामी जेठ १८ गतेसम्मका लागि विश्वविद्यालयको पठनपाठन बन्द गरिएको छ । रामपुरमा मर्मत गरेर कक्षा सञ्चालन र बस्न मिले पनि हेटाँैडामा भने पुनःनिर्माण गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, बैशाख २५, २०७२