मङ्लबार, बैशाख १८, २०८१

हेम्जामा तेह्र करोड मूल्यको आलु उत्पादन

पोखरा, ६ चैत । पोखरा उपमहानगरपालिका–२७ हेम्जामा यस वर्ष रु १३ करोड मूल्यको आलु उत्पादन भएको छ । सो वडामा यस वर्ष पाँचदेखि १५ प्रतिशतले आलु उत्पादनमा वृद्धि भएको कृषि सेवा केन्द्र हेम्जाका प्रमुख गुरुप्रसाद अर्यालले जानकारी दिएका छन् । हिउँदमा पानी परेको र डढुवा रोग नलागेकाले उत्पादन बढेको उहाँले बताउनुभयो । यस वर्ष आठ हजार मेट्रिक टन आलु उत्पादन भएको अनुमान गरिएको छ ।

गत वर्ष डढुवा रोग लाग्नु र कृषकले सधैँ एमएस ४२–३ जातको निलो आलु लगाउँदा उत्पादनमा कमी आएको कृषक चित्रनाथ पौडेल  बताए  ।

गत वर्ष त्यहाँका कृषकले सात हजार मेट्रिक टन आलु उत्पादन गरी करिब रु १२ करोड आलुबाटमात्रै कमाइ गरेका थिए । कृषकले यो वर्ष ४८० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो ।

यस गाविसका एक हजार ८५ परिवार व्यावसायिक रुपमा आलुखेती गर्ने गर्दछन् । कृषकले आलुखेतीका लागि चितवन, नवलपरासी, बागलुङ, म्याग्दीबाट बर्सेनि रु पाँच करोड मूल्यको कुखुराको सुली आर्यात गर्ने गर्दछन् ।

हेम्जाका कृषकले आलुबाहेक अन्य तरकारीखेती पनि गर्दछन् । यहाँका कृषकले सबै तरकारी खेतीबाट बर्सेनि रु एक अर्बभन्दा बढी आम्दानी गर्ने गरेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत्र ६, २०७१