बिहिबार, बैशाख २०, २०८१

अर्गानिक कृषि फार्म सञ्चालन

इलाम, २९ फागुन । विदेशमा सिकेको सीप र आर्जन गरेको रकमलाई गाउँमै लगानी गरेर इलाम नगरपालिकाका देउकुमार राईले उदाहरणीय काम गर्नु मात्र भएको छैन, व्यावसायिक कृषितर्फ युवा पुस्तालाई आकर्षित तुल्याएका छन् । बेलायती सेनाबाट निवृत्त राईले यसै वर्ष श्रीमाईपोखरी हर्बल तथा अर्गानिक एग्रिकल्चरल फार्म स्थापना गरेर लोप हुन लागेका विभिन्न जडिबुटी तथा प्राङ्गारिक तरकारी एवम् फलफूल उत्पादनमा जोड दिएका छन्। उनले सुलुबुङ–१ माईपातालमा करिब दुई सय रोपनी जग्गामा जडिबुटी नर्सरी, प्राङ्गारिक तरकारी एवम् फलफूल खेती सुरु गरेका छन् । चिराइतो, लौठसल्ला, सुगन्धवाल, कुरिलोजस्ता जडिबुटीको विरुवा उत्पादन गरी त्यसको विक्रीवितरणबाट राम्रो आम्दानी भएको उनि बताउछन् ।

उनका अनुसार पहिलो वर्ष नै रु पाँच लाखबराबरको चिराइतो बिक्री हुनुुको साथै सतुवा, किवी, सीतागे च्याउ, अर्गानिक चिया खेतीबाट आम्दानी हुन थालिसकेको छ । करिब डेढ करोड रुपैयाँको लगानीमा सुरु गरेको सो फार्ममा आठ/नौजनाले प्रत्यक्ष रोजगारी पाउनुको साथै ४० जनाभन्दा बढी मौसमी कामदारहरु संलग्न हुने गरेका छन् । उनले सदरमुकाममा एग्रो अर्गानिक क्याफे पनि सञ्चालन गरेर गुणस्तरीय तथा अर्गानिक खाना, खाजा खाने प्रबन्ध मिलाएका छन् । सो ठाउँबाट विभिन्न जातका जडिबुटीका बिउविजन, विरुवाहरुको खरिद विक्री पनि हुने गरेको उनको भनाइ छ । वैदेशिक रोजगारमा जान आतुर युवालाई गाउँमै व्यावसायिक एवम् अर्गानिक कृषि उत्पादन गरी रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले आफूले सो फार्म सञ्चालन गरेको राईले बताए ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २९, २०७१