शुक्रबार, बैशाख २१, २०८१

जैविक चिया प्रशोधन कारखानाको निर्माण ८० प्रतिशत सम्पन्न

इलाम, १२ फागुन । इलामको सूर्योदय नगरपालिका– ६ स्थित निर्माणाधिन जैविक चिया प्रशोधन कारखानाको निर्माण ८० प्रतिशत सम्पन्न भएको छ । इलामेली चिया उत्पादन सहकारी संस्था फिक्कलले आफ्नै लगानीमा जैविक प्रशोधन कारखाना निर्माण गर्न लागेको हो । शुद्ध जैविक चिया प्रशोधन गराउने उद्देश्यका साथ रु ६ करोडको लगानीमा कारखाना निर्माण गरिन लागेको संस्थाका अध्यक्ष कृष्णप्रसाल सुवेदीले बताए । चियालाई उचित मूल्य दिएर प्रशोधन गर्नका लागि सहकारी संस्थाले आफ्नै लगानीमा कारखाना बनाउन थालेको हो । ‘‘चियामा बढ्दो विषादीको प्रयोगले रोग भित्रिरहेको हुँदा हरेक गाउँलाई जैविक बनाउँ भन्ने उद्देश्यले कारखाना बनाउन सुरु गरेका हौं’’ अध्यक्ष सुवेदीले भने ।

सात वर्ष अघि स्थापना भएको उक्त सहकारी संस्थामा हाल ५७ जना सेयर सदस्य आवद्ध छन् । जैविक कारखाना निर्माण गर्न संस्थाले रु ५१ लाख सेयर सदस्हरुवाट संकलन गरेको अध्यक्ष सुवेदीले बताए । करिब रु ६ करोडको लागतमा उक्त जैविक कारखाना निर्माण गरिन लागेको अध्यक्ष सुवेदीले बताए । ‘‘अहिलेसम्म निर्माणमा रु सकिएको छ’’ उनले भने । भवन निर्माण गर्नका लागि रु तीन करोड ऋण लगानीबाट तथा बाँकी रु तीन करोड रकम सरकारलाई माग गर्ने संस्थाले जनाएको छ । इलाममा चिया प्रशोधन गराउने भरपर्दो कारखाना नहुँदा किसानले उत्पादन गरेको चियाको उचित मूल्य पाउन सकिरहेका छैनन् । आउँदो वर्षदेखि सञ्चालन गर्ने गरी चिया कारखाना निर्माण भइरहेको हो । कारखाना निर्माण भएपछि छिमेकी गाविस पशुपतिनगर, गोर्खे, जोगमाई, नयाँबजार, नाम्सालिङलगायतका गाविसका किसानले उत्पादन गरेको चियालाई उचित मूल्य दिएर खरिद गरि प्रशोधन गरिनेसमेत संस्थाले जनाएको छ । फिक्कलस्थित सुदुङमा १० रोपनी जग्गा सहकारी संस्थाको नाममा रहेको छ । सहकारीले फिक्कल बरबोटेमा थप पाँच आना जग्गा खरिद गरेको छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १२, २०७१