बिहिबार, बैशाख २०, २०८१

किसानलाई जलवायु परितर्वनको चेतना जगाउन निकै चुनौती

shiv nanadan

शिवनन्दन शाह
आयोजना निर्देशक
जलवायु प्रकोप समुत्थान निर्माण आयोजना

० जलवायु प्रकोपका कारणका कृषि क्षेत्रमा कत्तिको प्रभाव परिरहेको छ ?
जलवायु प्रकोपका कारण कृषि उपज उत्पादन घटिरहेको छ । जलवायु परिवर्तन कै कारण कतै बाढी पैरो त कतै खडेरीले पनि सताईरहेको देखिन्छ । खडेरी कै कारणले गर्दा एक लाख पचास हजार हेक्टरभन्दा बढी जग्गा त्यत्तिकै बाझो रहेको गतबर्षको तथ्यांकले देखाएको छ । बाढीका कारण देशका विभिन्न स्थानमा भएका कृषि योग्य भूमिहरु बालुवा र पाँगो माटोले पुरिएका देखिन्छ । गतबर्ष मात्र ३४ जिल्लामा जलवायु प्रकोपबाट धेरै नै नोक्सानी भएको देखिन्छ ।
० बाढी र पहिरोले कस्तो असर परेको छ त ?
बाढी र पैरोको कुरा गर्ने हो भने पहिरोको कारण सिन्धुपाल्चोक जिल्लामा भएको विनासकारी पहिरोका कारण २ सयभन्दा बढीले ज्यान गुमाउनु परेको थियो । त्यस्तै वाँके बर्दियामा गएको बाढीका कारण हजारौ खेती योग्य भूमि डुवानमा परेका मात्र होइनन् । बाली नाली नै नष्ट बनाएका छन् । यसका कारण मुलुकमा धेरै नै असर परेको छ त्यसलाई न्यूनिकरण गर्न वा बाढी पहिरोसम्वन्धी प्रकोपबाट बच्नका लागि किसानहरुलाई सचेत गराउनु अनिवार्य छ । जलवायु प्रकोपकै कारण कृषि उत्पादन घटिरहेको छ जसले कूल ग्रार्हस्थ उत्पादनमा कृषिको दर कमी हुँदै गएको देखिन्छ ।
० जलवायु प्रकोपबाट निम्तने समस्यालाई कमी ल्याउन के गरिरहनु भएको छ त ?
यो आयोजनाको प्रमुख उदेश्य नै किसानहरुलाई जलवायु प्रकोपबाट कृषि उत्पादनलाई कसरी जोगाउन सकिन्छ भन्ने हो । कृषि विकास मन्त्रालयको सञ्जाल तल्लो तहसम्म भएको भएपनि प्रकोपको जानकारी तत्काल किसानसम्म पु¥याउने संयन्त्र र प्रविधि नेपाल सरकारसँग नै छैन । त्यसकारण जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुन सक्ने जोखिम तथा क्षतिहरुलाई न्यूनिकरण गर्न नेपाल सरकारको क्षमता अभिबृद्धि गर्ने । अर्को कुरा समय सापेक्ष वास्तविक मौसम, बाढी तथा सुख्खाको प्रक्षेपणलाई सुधार गरी जलवायु परिवर्तनबाट जोखिममा पर्न सक्ने कृषक समुदायहरुमा सतर्कता अपनाउन हामीले सहयोग गरिरहेका छौं । तर, किसानहरुसम्म क्षमता अभिबृद्धि होस् वा यसबारे सचेतना जगाउ निकै चुनौती भने देखिएको छ ।
० किसानसम्म पुग्नका लागि कस्ता चुनौती छन् त ?
किसानहरुसम्म पुग्नका लागि विभिन्न खालका प्रविधिहरु मार्फत जानु पर्ने हुन्छ । आईसिटी प्रविधिलाई अवलम्वन गर्दा महत्वपूर्ण कुरा विद्युत आपूर्तिका कुराहरु पनि आउँछ । हामीकहाँ विद्युत आपूर्तिका कमीका कारण समस्याहरु छन् । अर्को कुरा कार्यालय समयभन्दा अगाडि वा पछाडि किसानहरुले सूचना चाहे भने पाउन सक्ने अवस्था छैन । सवैभन्दा महत्वपूर्ण कुरा के हो भनेदेखि आयोजनालाई कार्यान्वयन गर्न कर्मचारीहरुमा इमान्दारीताको अत्यन्तै आवश्यक छ । यदि कर्मचारीहरुमा इमान्दारिता भयो र कार्यालय समयभन्दा अगाडि वा पछाडि पनि किसानहरुले सूचना प्राप्त गर्न सक्ने अवस्थाको सृजना भयो भने सायद यस्ता चुनौतीको सामना गर्न सकिन्छ जस्तो लाग्दछ । तर हामीले किसानहरुलाई जलवायु परिवर्तन सम्वन्धी जानकारी गराउँदा सूचनाहरु उपलब्ध गराउँदा मौसम तथा जलवायु विभागले हालपनि प्रशारण गरिरहेको छ । त्यसमा सहि र तथ्य सूचनाहरु भयो भने किसानहरलाई फाइदा हुन्छ । हाल विद्यमान अवस्थालाई हेर्ने हो भने मौसम सम्वन्धी २४ घण्टे पूर्वअनुमानमाथि नै जनताले शंका गरिरहेका छन् । किसानहरुका लागि यो सूचना ७ दिनको दिन सक्यो भने मात्र किसानहरुले फाइदा लिन सक्छन् ।
० यसको मतलव मौसमको पूर्व अनुमानलाई किसानहरुले स्वीकार गर्ने अवस्था देखिएन ?
स्वीकार नगर्ने भन्दा पनि कहिले काँही त्यस्तो समस्या देखिन्छ । मानौ भोली पानी पर्दछ भन्ने सूचना किसानहरुलाई भयो र किसानहरुले त्यो पानीबाट हुने नोक्सानीबाट बच्नलाई बाली भित्र्याउनु भयो तर पानी परेन भने त्यसबाट पनि किसानहरुले क्षति व्यहोर्नु पर्दछ । साना साना कुराका कारण पनि किसानहरुले क्षति व्यहोर्नु परेकाले तथ्यपरक र सहि सूचनाहरु हामीले प्रवाह गर्न सक्यौ भने मात्र किसानहरुले फाइदा लिन सक्छन् भन्न खोजिएको हो ।
० नेपाली किसानहरुलाई जनचेतना अभिबृद्धि गर्ने कार्यको अभाव छ, किसानसम्म यो कुरा पुगेन भन्ने आरोप लाग्ने गरेको छ त ?
यो वास्तवमा भन्ने सहि कुरा हो । अहिलेसम्म जलवायु तथा मौसमको सूचनाहरु किसानसम्म पुग्न सकेको छैन । यो दायित्व भनेको कृषि विकास मन्त्रालयको पनि हो । त्यसैले पनि सहि सूचना किसानसम्म पुगोस् भनेर नै मन्त्रालयले विश्व वैंकको सहयोगमा यो आयोजना सञ्चालन गरिरहेको छ । किसानहरुलाई आवश्यक पर्ने जलवायु परिवर्तन सम्वन्धी सूचना प्रवाह गर्ने मूल उदेश्य नै हाम्रो हो । त्यसमा जिल्ला कृषि कार्यालय, जिल्ला पशु सेवा कार्यालय मार्पmत यो सूचना किसानसम्म प्रवाह गर्न हामी लागिरहेका छौं । कृषि विकास मन्त्रालयको संयन्त्र समुदायसम्म भएका कारण हामीले यो काम गर्न सक्छौं । अहिले प्रविधिको विस्तारसँग किसानहरुले अझ बढी प्रभावकारी ढंगले सूचना प्राप्त गर्न सकुन् भन्ने सोचले मोवाईल एप्सको पनि विस्तार गरेका छौं । विस्तारै विस्तारै किसानमा जनचेतना अभिबृद्धि गर्ने काम भएको छ जस्तो मलाई लाग्छ ।
० सवै किसानसूग मोवाईल प्रयोग गर्ने जानकारी वा क्षमता नहुन पनि सक्छ नि त ?
नेपाल टेलिकमका अनुसार नेपालमा ९६ लाख जनताले मोवाईलबाट इन्टरनेट चलाउने क्षमता भएको भन्ने समाचारहरुबाट देखिन्छ । अहिले हामीले २५ जिल्लामा प्रविधिको विस्तार र सूचनाको विकास गरी पूर्व चेतावनी प्रणाली अन्तर्गत प्रत्येक दिन कम्तिमा ५ वटा सूचना किसानहरु प्राप्त गर्ने व्यवस्था गरेका छौं । त्यसको लागि नेपाल टेलिकमसँग पनि संयुक्त सम्झौता गर्दछौं । नेपाल टेलिकमले किसानहरुका लागि थ्री जी सिम कार्ड र ५ वटा सन्देशका लागि पैसा नलाग्ने व्यवस्थाका लागि सम्झौता पनि गर्दछौं ।
० यो आयोजना शुरु भएपछि किसानका के उपलब्धि भयो त ?
अहिले आयोजना प्रारम्भिक चरणमा नै छ । यो आर्थिक बर्ष बर्षमा ८ वटा जिल्लामा सूचना प्रवाह गर्ने उदेश्य राखेका छौं । त्यो सूचना प्रवाह गर्नका लागि किसानहरुलाई रेजगेज र थर्मोमिटर, मोवाईल फोन वितरण गर्दै छौं । केही ठाउँमा घुम्ति कार्यशाला गोष्ठि सञ्चालन गरेका छौं जसबाट किसानहरुले धेरै नै फाइदा लिन भएको छ । किसानहरुमा जलवायु प्रकोपबाट आफू कसरी जोगिने भन्ने ज्ञान हासिल भएको छ ।
० त्यसो भए अव नेपाली किसानहरुले हरेक दिन जलवायु तथा मौसम परिवर्तनका बारेमा जानकारी पाउने भए ?
हो, हामीले यो आयोजना मार्फत किसानहरुका लागि मौसम परिवर्तनका कुरा जानकारी गराउन सक्यौ भने मानौं धान रोपीसकेपछि पानी पर्ने वा नपर्ने भयो भने के गर्ने भन्ने कुरा उहाँले जानकारी पाउनु हुन्छ । सातदिन भित्रको पूर्व अनुमान भयो भने त्यो सातदिन भित्र के गर्ने वा नगर्ने भन्ने कुरा सचेत गराउने भन्ने कुराको सचेत गराउँछ । त्यस्तै किसानहरुलाई आगामी छ महिनामा पानी पर्दैन भन्ने कुरा थाहा भयो भने सो अवधिमा कस्तो बाली लगाउने भन्ने कुरा हाम्रो कृषि सल्लाह किसानसम्म पु¥याउन हामी लागि परेका छौं ।
० पढ्न नसक्ने किसानहरुका लागि के गर्नु हुन्छ ?
पढ्न नजान्ने किसानहरुका लागि पनि हामीले श्रव्य सूचनाको व्यवस्था गर्दछौं । कुनै किसानले पढ्न सक्दैन फोनबाट जिज्ञासा राखेको खण्डमा त्यसको जवाफ पनि आवाजबाट नै दिने प्रक्रिया अगाडि बढाउनेछौं । यो व्यवस्था तत्काल लागू भएको छैन । यसका लागि भने केही समय कुर्नु पर्ने हुन्छ । –  वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, फाल्गुन १०, २०७१