शुक्रबार, बैशाख ७, २०८१

“कृषि क्षेत्रको विकास नहुनुको सवैभन्दा ठूलो समस्या भनेको सिंचाई नै हो ”

udaya final– डा. उदयचन्द्र ठाकुर , प्रवक्ता एवंं सहसचिव, कृषि विकास मन्त्रालय

० मन्त्रालय आगामी बर्षका लागि योजना बनाउने तयारीमा लागिरहेका छ होइन ? 

हो । अहिले हामी आगामी आर्थिक बर्षका लागि योजना बनाउने काममा लागिरहेका छौं । गतबर्षहरुमा भएका राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिने र मन्त्रालयको रणनीति परिवर्तन गरी तत्काल उपलब्धि देखिने खालका कार्यक्रम निर्माण गर्ने काममा जुटेका छौं । अहिले हामीले हरेक जिल्लामा धान गहुँ मकै लगायतका बाली उत्पादन गरिरहेका छौं त्यसले उपलब्धि देखिएन त्यसकारण जिल्लालाई विशेष बाली उत्पादन गर्नका तयारी गरिहेका छौं । त्यस्तै पशुपालन तर्फ पनि धेरै किसिमका पशु पालन भन्दा पनि एक वा दुई पशुपालन गरेर जिल्लालाई चिनाउने र बढी उत्पादन दिने बस्तु एवं बाली उत्पादनमा हामीले जोड दिईरहेका छौ । त्यसले गर्दा हामीले उत्पादन बृद्धि गरी आयातलाई केही मात्रामा भएपनि न्यूनिकरण गर्न सकिन्छ भन्ने नै हाम्रो नया“ योजना छ ।
० बस्तु वा बालीका आधारमा जिल्ला चिनाउने प्रयास गर्दै छौं भन्नु भो सम्भव छ ?
असम्भव भन्ने कुरा नै छैन । काम ग¥यो भने सकिन्छ । अहिले नै धान उत्पादनका लागि हेर्ने हो भने पाँच सात वटा जिल्लाहरुले ६० देखि ७० प्रतिशतसम्म धान उत्पादन गरिरहेको देखिन्छ । वाँकी ३० देखि ४० प्रतिशत धान उत्पादन गर्नका लागि मुलुकभर जानु भन्दा त्यही जिल्लाहरुमा कसरी उत्पादन बृद्धि गर्न सकिन्छ भन्ने कुरामा ध्यान दियौं भने अन्त किन जानु प¥यो । अन्य जिल्लामा अन्य बस्तु तथा बालीमा विशेष चासो लिन सकियो । अहिले हाम्रो आवश्यकता भनेको उत्पादकत्व बढाउने नै हो । धान उत्पादनमा बृद्धि गर्नका लागि नै नेपाल भारत र बंगलादेशवीच बढी उत्पादन दिने जातका धानका बीउ आदान प्रदान गर्नका लागि सम्झौता भईसकेको छ । त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि पनि हामीले थोरै समयमा धेरै उत्पादन दिने जात लगाउन सक्यौं भने हामीले गर्न सक्छौं नेपालमा त्यसका लागि प्रचुर सम्भावना छ ।
० त्यसो भए आगामी बर्षका योजना कृषि उत्पादन बृद्धि गर्ने खालका मात्र आउछ ?
हो । अहिले हामीले क्षेत्रीय स्तरमा गरेका योजना तर्जुमा गोष्ठिमा पनि जिल्ला जिल्लाका प्रमुखहरुले सो क्षेत्रमा हाल भएका तथ्यांकलाई हेरेर बस्तु र बालीको उत्पादन बृद्धि गर्नका लागि के गर्नु पर्दछ र कसरी विगतबर्षहरुको भन्दा उत्पादन बृद्धि गरी उपलब्धि गर्न सकिन्छ भन्ने कुरामा नै हामीले जोड दिएका छौं । र त्यसकै लागि बृहत छलफल भईरहेको छ ।
० आजका दिनसम्म योजना तर्जुमाका लागि तीन बिकास क्षेत्रमा गोष्ठि भईसकेका छन् । किसानहरुले चाही कस्ता योजना चाहियो भनेका छन् त ?
किसानहरुको चाहना पनि त्यही नै छ । जुन अहिले हामीले योजना बनाईरहेका छौं । विगतका बर्षहरुमा किसानहरुले उचाएका कृषि क्षेत्रमा सफल भएका कार्यक्रमहरुलाई हामीले निरन्तरता दिने नै हो । अहिले हामी बिशिष्टताका आधारमा जान खोजिरहेका छौं । हामीले युवा लक्षित कार्यक्रम गरिरहेका छौं भने पनि त्यही बालीमा जाने हो । जिल्लाको हावापानी र भौगोलिक अवस्था र बढी उत्पादन जुन बस्तु र बालीमा हुन्छ त्यसलाई नै महत्व दिन्छौं ।
० कृषि क्षेत्रले जुन उचाई लिनु पर्ने हो त्यो भएन भन्ने गुनासा त आईरहेका छन् नि त ?
म त्यसमा सहमत छैन । कृषि क्षेत्रले उचाई लिएको छ । आजभन्दा बीस बर्ष अगाडिको उत्पादकत्व के थियो अहिले के छ भन्ने कुराको तुलना गर्नु पर्दछ । बीस बर्ष अगाडि दूधमा हामी कहाँ थियौ अहिले कहाँ छौं त्यसलाई तुलनात्मक रुपले हेर्नु पर्दछ । त्यस्तै कृषि उत्पादन बृद्धि नहुनुमा एउटा कृषि विकास मन्त्रालयलाई मात्र दोष थोपरेर हुँदैन । उत्पादन बृद्धिका लागि सिंचाई सुविधा हुनु पर्दछ । सिंचाईका लागि हामी प्रकृतिको भरोसामा बस्नु पर्ने वाध्यता छ ।
० यहाले सिंचाईको कुरा उठान गर्नु भो कृषिका लागि महत्वपूर्ण अंग सिंचाई तर कृषि मन्त्रालयको मातहतमा सिंचाई नभएका कारण पनि यस्तो भएको होला नि ?
यसका लागि कृषि विकास मन्त्रालयले सक्दो सिंचाईका लागि सक्दो प्रयास गरिरहेको छ । तर सिंचाईका लागि निकाय छुट्टै भएका कारण त्यसलाई समन्वय गरेर अगाडि बढ्ने तर्फमात्र लाग्ने हो कृषि विकास मन्त्रालयमा सिंचाई नहुनले केही समस्या त भोग्नु पर्दछ नै ।
० कृषि विकासका लागि धेरै आयोजना पनि सञ्चालनमा आएका छन् तर, आयोजनाले काम नै गर्न सकेनन् भन्ने आरोप तपाईहरुलाई लागेको छ नि होइन ?
अहिले सञ्चालनमा रहेका आयोजनाहरु विभिन्न उदेश्य लिएर आएका छन् । कुनै आयोजना जिवीकोपार्जन सुधारका लागि सञ्चालित छन् भने कुनै आयोजना व्यवसायीकरण गर्ने खालका छन् । आयोजनाले आफ्नो उदेश्य अनुरुप प्रभाव पारेका छ त्यसमा दुईमत नै छैन । कुरा के हो भने जिवीकोपार्जन सुधारका लागि आएको आयोजना व्यवसायीकरण तर्फ जान सक्दैन । त्यसले गर्दा नबुझेर आएका गुनासा हुन् जस्तो मलाई लाग्छ ।
० कृषि क्षेत्रको विकासका लागि देखिएका चुनौतीहरु के हुन् जसले गर्दा कृषिको विकास हुन सकिरहेको छैन ?
कृषि क्षेत्रको विकास नहुनुको सवैभन्दा ठूलो समस्या भनेको सिंचाई नै हो । अर्को समस्या भनेको कृषि सामग्री पनि हो हामीले जति चाहेका थियौं त्यत्ति गर्न सकेका छैनौ । रसायनिक मल पनि हाम्रो समस्या हो तर हामीले अनुदान दिएकै कारण विगत दुईबर्षदेखि किसानहरुमा मलको समस्या छैन । भने किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको बजारीकरणका लागि पनि समस्या छ । पशु तथा बालीमा हुने क्षतिका लागि कृषि बीमाले केही राहत दिएको छ । यस्तै चुनौतीहरु छन् तर अहिले त्यस्ता चुनौतीहरु विस्तारै विस्तारै समाधान हुँदै गईरहेका छन् । मन्त्रालयले कृषि क्षेत्रमा गरेको परिवर्तनकै कारण पछिल्लो समयमा लगानीहरु पनि बढ्दै गईरहेको छ ।-वेकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, फाल्गुन १७, २०७१