शनिबार, बैशाख १५, २०८१

खडेरीले कृषि उत्पादनमा असर

धनकुटा,६ फाल्गुन । लामो खडेरीका कारण जिल्लामा हिउँदे बालीको उत्पादन घटेको छ। आठ महिना लामो खडेरीले पानीका मुहान सुकेर सिँचाइ अभाव भएपछि हिउँदेबाली उत्पादन न्यून भएको छ।  जिल्लाको १४ सय ५० हेक्टर खेतीयोग्य जमिनमा हिउँदेखेतीमा सिँचाइ अभावका कारण ६० प्रतिशतले उत्पादन घट्ने जिल्ला कृषि विकास कार्यालयको प्रक्षेपण छ।

आठ महिना पानी नपरेर लामो खडेरीका कारण खोला, खोल्सिका पानीका मुहान सुकेका छन्। बर्खेबाली पनि लामो खडेरीका कारण ४० प्रतिशत कम उत्पादन भएको थियो।  कृषि विकास कार्यालय धनकुटाका बाली संरक्षण अधिकृत छविलाल घिमिरेले बर्खेबाली उत्पादन राम्रो नभएका किसानले खडेरीकै कारण हिउँदे बाली लगाउन नपाएपछि जिल्लामा खाद्य संकट हुन सक्ने अनुमान गरिएको बताए।

 मुख्य गरेर गहुँ, दलहन, तरकारी, तेलहन बालीलगायत लगाउन नपाएका र केही क्षेत्रमा लगाएको बाली पनि मर्न थालेपछि उत्पादनभन्दा पनि बीउ जोगाउनै मुस्किल भएको यहाँका किसानको गुनासो छ।
 खडेरीकै कारण चैत्रमा लगाइने धानको बीउसमेत राख्न नसकिएकाले खेत बाँझै हुने चिन्ता पात्लेबेसीका किसान झमक कटुवालको छ।
 वर्षात् नभएपछि बेमौसमी तरकारी, गहुँबालीमा परेको असरसँगै जिल्लाको भौगोलिक विविधताअनुसार फागुनदेखि वैशाख महिनासम्म लगाइने धान र मकैबाली किसानले लगाउन सकेका छैनन्।
 जिल्लाको उच्च क्षेत्रमा मकै छर्ने समय घर्कन लाग्दासमेत पानी नपर्नुले उत्पादन नहुने चिन्तामा आफूहरू भएको किसान लक्ष्मण बस्नेतले बताए।
 खडेरीले भीरगाउँ, परेवादिन, मूर्तिढुंगा, वसन्तटार, मौनाबुधुक, मुढेवास, भेडेटार, बोधे, खोकु छिन्ताङलगायत गाविसको करिब एक हजार हेक्टर क्षेत्रफलमा हिउँदेखेती प्रभावित भएको कृषि कार्यालय धनकुटाले जनाएको छ।
प्रकाशित मिति: बुधबार, फाल्गुन ६, २०७१